Print

“शासक होइन् जनताको सेवक बन्ने छु”– मेयर तिवारी

६ जेठ, पर्वत । जिल्लाको फलेवास नगरपालिकाका नगरप्रमुख (मेयर) गंगाधर तिवारीले शासक होइन् जनताको सेवक बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । आज एक कार्यक्रमका वीच नगर प्रमुखको पदभार ग्रहण गर्दै तिवारीले आफू सधै जनताको सेवक बनेर अबको ५ बर्ष जनताको सेवा गर्ने बताएका छन् ।

तिवारीले आजै मुख्य निर्वाचत अधिकृतबाट सपथ ग्रहण पछि आफ्नो पदभार ग्रहण गरेका थिए । नगरपालिकाको कार्यालयमा वैद्धिक विधि शास्त्र अनुसार शुभ समयमा पदभार ग्रहण गरेका तिवारीले पत्रकारसंग संक्षिप्त प्रतिक्रिया दिदै आफूले नगरपालिकाका कुनै पनि सेवा सुविधा नलिईकन जनताको सेवक बनेर कार्यकाल भरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नगरपालिकाबाट प्राप्त हुने कुनै पनि सेवा नलिने घोषणा गरेका तिवारीले नगरपालिकाको सवारी सुविधा समेत जनताको सेवा गर्ने एम्बुलेन्सको रुपमा प्रदान गर्न आफू तयार रहेको बताएका छन् । उनले नगरपालिकाको अफिसियल मोवाईल नम्बरलाई प्रयोग गर्ने तर नगरपालिकाको खर्चमा मोवाईल फोन प्रयोग नगर्ने समेत घोषणा गरे ।

‘म पैसाको लागि नगरप्रमुख भएको होइन’ उनले भने–‘आफ्नै खर्चमा भए पनि जनताको सेवा गर्नपाउनु मेरो लागि शौभाग्य हो ।’ तिवारीले आफूले नगरपालिकाबाट बुझने सवै प्रकारका सेवा सुविधालाई विशेष कोष बनाएर आफू मेयर पदबाट बाहिरिएपछि पनि जनताको सेवाको लागि उक्त रकम खर्च गर्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन् ।

तिवारीले आजै नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री तथा नगर सभाका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

आजै फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले समेत पद भार ग्रहण गरेकी छिन् । पदभार ग्रहण पछि पत्रकारसंग उनले नगरबासीको सल्लाह र सुझाबाट आधारमय आफूले आगामी दिनमा आफ्ना कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।