Print

स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसका यी हुन् भत्किएका गढहरु

६ जेठ, पर्वत । स्थानीय तहको निर्वाचनमा दलहरुले आफ्नो क्षेत्र, इलाकालाई गढको रुपमा परिभाषीत गर्ने गर्दछन् । आफ्ना मतदाताहरु धेरै भएको भनेर गढ भनिने ति क्षेत्रहरुमा जनताको मत भने सधै स्थीर नरहन सक्छ । मुख्य गरी जिल्लामा एमाले र कांग्रेसकै उपस्थिती बलियो छ । ति दलहरुले केहि वडाहरुलाई आफ्नो पकड क्षेत्र रहेको भन्ने गरेका छन् ।

तर, जनताले भने मताधिकार प्रयोग गर्ने बेलामा गढ र आधार इलाकाहरुमा नै उक्त दललाई हराउने नयाँ दललाई जिताउने गरेको अभ्यास देख्न सकिन्छ ।

केहि बर्ष अघिसम्म एमालेले निर्विरोध गाविस अध्यक्ष पाउने गरेको फलेवास नगरपालिकाको खानीगाउँ क्षेत्र एमालेको लागि मतको संख्या निकै धेरै भएको वडा हो । तर, यस पटकको निर्वाचनमा खानीगाउँबासीले नगरप्रमुख र उपप्रमुखममा एमालेलाई हराईदिए । कांग्रेसका नगरप्रमुखलाई धेरै मत दिएर गढको संज्ञालाई उत्टाईदिए । उता, फलेवासकै कार्किनेटा पनि एमालेले आफ्नो क्षेत्र दावी गर्दै आइरहेको वडा हो तर, त्यहि वडामा वडाअध्यक्ष नेपाली कांग्रेसले जित्यो ।

जिल्लाको मोदी गाउँपालिका बाजुङ र तिलाहार एमालेको मत धेरै भएको क्षेत्र हुन् । तर दुवै वडा एमालेल गुमायो । बाजुङमा ४ दशक देखि जित्दै आएको विजयी यात्रा व्रेक भयो भने तिलाहारमा लामो समय देखिको आधिपत्यको अन्त्य भयो ।

एमालेले आधार क्षेत्र मानेका कुश्मा नगरपालिकाको आर्थर र ठुलिपोखरीमा समेत यस पटक एमालेले हार बेहोर्नु पर्यो ।

कांग्रेसले आफ्ना मतहरु अत्याधिक रहेको भनेर भन्दै आएको जलजलाको मल्लाज क्षेत्र (माझफाँट) ले यस पटक कांग्रेसका जनप्रतिनिधि छोडेर एमालेका जनप्रतिनिधिलाई भारी मतले चुन्यो । उता, विहादीको बाच्छाको मत परिणाम उल्टाउँदै कांग्रेसलाई एमालेले आफ्ना जनप्रतिनिधि उभ्याउन सफल भयो ।

पैयू गाउँपालिकामा कांग्रेससंग अरु सवै दल मिले पनि निर्वाचन जित्न गाहे हुने यस अघिका अभ्यासहरु इतर यस पटक त्रिवेणी, हुवास र सरौखोलाको मतपरिणाम उल्टीयो र एमालेले निर्वाचन जित्यो । पालिका अध्यक्ष र उ उपाध्यक्षमा समेत एमालेलाई उत्साहजनक मत खस्यो ।

पछिल्ला बर्षहरुमा यस अघिका जस्तो गरी दलहरुले आफ्ना कार्यकर्ता मानेका जनताहरुले दल र नेताको वैचारिक अवस्था, क्षमता र कार्य दक्षताका आधारमा मूल्यांकन गर्ने परिपाटीको विकास हुँदै गएको छ । निर्वाचनमा नसोचेका परिणामहरु आउनु जनताले परिर्वतन खोजेको स्पष्ट संकेत गर्दछ ।