Print

कुश्मामा मेयर जोशी नगरसभामा फेरी पनि अल्पमतमा

५ जेठ, पर्वत । दोस्रो कार्यकालका लागि निर्वाचित कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी फेरी पनि अल्पमतमा परेका छन् । पहिलो कार्यकालमा नगरसभा र कार्यपालिका दुवै ठाउँमा अल्पमतमा रहेका जोशी फेरी पनि अल्पमतमा परेका छन् । कुल नगरसभाका हालसम्म निर्वाचित सदस्य मध्ये जोशीको नेपाली कांग्रेसबाट निर्वाचितको संख्या अल्पमतमा रहेको हो ।

जोशीले यस अघि पहिलो कार्यकालमा अल्पमतमा परेपछि विकास निर्माणको काम गर्न नसकेको भन्दै बहुमतका लागि मत मागेका थिए । उनले बहुमत प्राप्त मेयर भएमा आफूले गर्न सक्ने थुप्रै कामहरु गर्न सकिने एजेण्डा सहित मतदातासंग मत मागेका थिए । निर्वाचनको मतपरिणाम अनुसार भने उनी नगरसभामा स्पष्ट रुपमा अल्पमत छन् । बाँकी ३ जना नगरकार्यकालिका सदस्य निर्वाचित गर्दा समेत उनले बहुमत पुराउन सकेनन भने जोशी दोस्रो कार्यकालमा पनि अल्पमत सहितको नेतृत्वमा रहनेछन् ।

यस अघि मेयर जोशीसंग उपमेयर समेत आफ्नै पाटीबाट निर्वाचित थिइन् । यस पटक भने उपमेयर सहित एमालेले बहुमत सदस्य जितेको छ ।

स्थानीय तहमा बहुमत अल्पमतको ब्यवस्था नगरीएको भए पनि कार्यपालिकाको वैठक र नगरसभामा संख्याका आधारमा मत विभाजन हुँदा महत्वपूर्ण निर्णयहरु प्रभावित हुने गर्दछन् ।

उता, पर्वत जिल्लाका बाँकी ६ वटै पालिकाहरुमा एमालेको बहुमत सदस्यहरु निर्वाचित भएका छन् । एमालेले अध्यक्ष पद जितेको महाशिला र मोदीमा उपाध्यक्ष सहित बहुमत छ भने बाँकी पालिकाहरुमा पनि नगरसभामा बहुमत सदस्यहरु निर्वाचित भएका छन् ।