१६ वैशाख, पर्वत । स्थानीय तहको निर्वाचनमा पर्वतमा नेकपा एमालेले महिलालाई पालिका प्रमुखमा अघि सारेको छ । जिल्लाको मोदी गाउँपालिकामा एमालेले महिला नेतृ हिरादेवी शर्मालाई अघि सारेको हो ।
राजनैतिक दलहरुले आफ्नो चुनावी नारामा महिला अधिकारको कुरा गर्ने गरेको भए पनि निर्वाचनको बाध्यकारी ब्यवस्था बाहेकमा महिलालाई नेतृत्व दिएको देखिदैन् । पर्वत जिल्लाका ७ पालिकाहरु मध्ये गठबन्धनको तर्फबाट धेरै स्थानहरुमा महिलालाई प्रमुख र उपप्रमुख दुवैबाट बञ्चित गरे पनि एमालेले भने महिलालाई स्थान दिएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य शर्मा लामो समय शिक्षण पेशामा आवद्ध थिइन् । अखिल नेपाल महिला संघ पर्वतको अध्यक्ष समेत रहेकी शर्मालाई एमालेले पालिका अध्यक्षको रुपमा अघि सारेको हो ।
मोदी गाउँपालिकाको उपाध्यक्ष पदमा भने एमाले जिल्ला उप सचिव बिमल लामिछाने छन् । उनी पनि एमालेका युवा नेता हुन् । फराकिलो मतान्तरले २०७४ सालको निर्वाचनमा मोदी ६ तिलाहारमा वडा अध्यक्ष विजयी भएका उनी मोदी गाउँपालिकाको संस्थापक प्रवक्ता समेत हुन् ।
उक्त गाउँपालिकामा माओवादी र कांग्रेसको तर्फबाट संयुक्त उमेदवार गुप्त हमाल बनेका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य रहेका हमाल गठबन्धनको तर्फबाट पालिका अध्यक्ष बनेका हुन् । उपाध्यक्ष भने नेपाली कांग्रेसका जीवन प्रसाई उमेदवार बनेका छन् । संवैधानिक ब्यवस्था बमोजीम अध्यक्ष र उपाध्यक्ष मध्ये एक पदमा महिला अनिवार्य भए पनि गठबन्धनले भने महिला उमेदवारलाई स्थान नदिएको भन्दै स्थानीय स्तरमा भने विरोध भएको छ ।