२७ चैत, पर्वत । जिल्लामा ५ दलीय गठबन्धन प्रति नेपाली कांग्रेस भित्र चरम असन्तुष्टि बढेको छ । न्यून जनआधार भएका दलहरुसंग ठूलो दलले गठबन्धन गरेको भन्दै कांग्रेस पर्वतमा असन्तुष्टि बढेको हो । कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी सहित महाधिवेशन प्रतिनिधिहरुको वैठकमा समेत केहि नेताहरुले गठबन्धन प्रति असन्तुष्टि जनाएका थिए ।

कांग्रेसको जिल्ला नेतृत्वले कांग्रेस भित्रकै नेताहरुको विरुद्धमा गठबन्धनलाई प्रयोग गर्न सक्ने भन्दै कांग्रेसका नेताहरुमा असन्तुष्टि बढेको छ । अर्को तर्फ, न्यून जनआधार भएका दलहरुलाई सिट दिने विषयमा पनि कांग्रेसका अधिकांश नेताहरु सहमत छैनन् । जिल्लाका केहि पालिकाहरुमा जिल्ला नेतृत्वले कांग्रेसका नेताहरुको ब्यवस्थापन नगरी गठबन्धनलाई सिट दिनसक्ने भन्दै नेताहरुले गठबन्धन प्रति शंका गरेका छन् ।
माओवादी केन्द्र तत्कालीन स्थानीय तहको निर्वाचनमा ४ वटा वडाहरुमा बाहेक सवै वडाहरुमा तेस्रो स्थान प्राप्त गरेको थियो । गठबन्धन हुँदा कम्तिमा २ दर्जन भन्दा बढि वडाहरुमा माओवादीलाई नेतृत्व दिनुपर्ने दबाब कांग्रेस भित्र छ । कांग्रेसका नेताहरु भने त्यो स्विकार गर्ने पक्षमा छैनन् ।
अर्को तर्फ माधव नेपालको समाजवादी दलको पनि जिल्लामा उपस्थिती निकै न्यून छ । केहि वडाहरुमा बाहेक आफ्नो वडा कमिटि समेत गठन नगरेको समाजवादीलाई सिट माग्न सक्ने भन्दै कांग्रेसका कार्यकर्ताहरु रुष्ट बनेका छन् । जसपा र जनमोर्चाको भने पालिका कमिटि समेत गठन नभएका कारण ति दलहरुसंग सहकार्य गर्ने भनेर कार्यकर्तालाई अरु चिन्ह्मा भोट हाल्न लगाउने विषयमा कांग्रेस बृत्तमा असन्तुष्टि बढ्दै गएको छ ।
तत्कालीन अवस्थामा ३ पालिकाको नेतृत्व जितेको कांग्रेसलाई थप २ पालिका गठबन्धन विना नै सहज हुने कांग्रेस नेताहरुको ठम्माई छ । यसो हुँदा, ७ पालिका मध्ये एक्लै कांग्रेसले ५ पालिका जित्न सक्ने अवस्था हुँदा हुँदै पनि गठबन्धन गर्नु धातक भएको कांग्रेस नेताहरुको तर्क छ ।
३ पालिकामा माओवादीको दाबी
जनमतको हिसावले सवैभन्दा धेरै मत ल्याएका जलजला गाउँपालिका माओवादीको पहिलो रोजाईको पालिका हो । २ वटा वडा अध्यक्ष सहित तेस्रो भएको माओवादीले जलजला गाउँपालिकामा साविकको अवस्थामा अध्यक्ष पदमा मात्रै १९ सय २१ मत ल्याएको थियो । तेस्रो स्थानमा पनि सम्मानजनक मत ल्याएको माओवादीको लागि जलजला गाउँपालिकाको अध्यक्ष रोजाईमा रहेको छ ।
माओवादीले ११ सय ६३ मत ल्याएको कुश्मा नगरपालिकाको थियो । कुश्मा नगरपालिकाको उपप्रमुख पद माओवादीको रोजाईमा रहेको छ । कुश्मा नगरपालिका जिल्ला भरीकै ठूलो नगरपालिका भएका कारण पनि माओवादी यो नगरपालिकामा आफ्नो उपस्थिती चाहन्छ । उसले फलेवास नगरपालिकामा दावा नगर्ने संकेत गरेको छ । उक्त नगरपालिकामा मतसंख्या कम भएका कारण पनि समाजवादीलाई उपप्रमुख दिएर फलेवास नगरपालिकामा गठबन्धन गर्न माओवादी चाहन्छ ।
जिल्लाको विहादी गाउँपालिकामा १०५८ मत साविकको निर्वाचनमा ल्याएका कारण उक्त पालिकाको प्रमुखमा माओवादीको शसक्त दावा रहन्छ । उक्त पालिकाको अध्यक्ष पनि माओवादीले दावी गर्ने तयारी गरेको छ । कमजोर उपस्थिती रहेका कारण महाशिला माओवादीको रोजाईमा छैन भने पैयू गाउँपालिकामा एउटा वडा जितेका कारण पनि त्यहाँ उसले उपाध्यक्ष पाउनुपर्ने अडान लिने तयारीमा छ ।
संख्या न्यून भए पनि नेताको ब्यवस्थापनका लागि र कांग्रेस तथा माओवादीको समिकरणमा समेत कमजोर भएको मोदी गाउँपालिकामा पनि माओवादीले अध्यक्ष पदमा दावी गर्नेछ । जलजला, मोदी र विहादीमा अध्यक्ष पद माग्ने र बाँकी पालिकाका उपाध्यक्ष र उपप्रमुख पदमा माओवादीले शसक्त अडान सहित दावी प्रस्तुत गर्ने तयारीमा छ ।
जसपा, जनमोर्चा र समाजवादीको धरातक कमजोर भएको र न्यून मतदाता रहेका कारण माओवादी केन्द्र कांग्रेससंग दोस्रो शक्तिको रुपमा आफ्नो माग सहित प्रस्तुत हुने तयारीमा छ । आजको अर्थ वीट साप्ताहिकमा खबर छ




