१८ चैत, पर्वत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै छ । आगामी २०७९ वैशाख ३० गते हुने निर्वाचनको लागि दलहरु आ–आफ्नै रणनीतिमा छन् । कांग्रेस साना दलहरुसंग गठबन्धन गरेर निर्वाचनमा जाने देखिन्छ भने एमाले एक्लै निर्वाचनमा जाने देखिन्छ । एमालेले स्थानीय स्तरमा आवश्यकताका आधारमा तालमेलको संकेत गरेको छ । उसले तत्काल बामगठबन्धन अस्विकार गरेको छ भने कांग्रेसले सत्ताधारी गठबन्धन नै निर्वाचनमा लैजाने निर्णय गरेको छ । कांग्रेसले स्थानीय आवश्यकताका आधारमा भन्ने शब्द प्रयोग गरेर गठबन्धनको निर्णय गरेपछि उता, माओवादी केन्द्र भने शसंकित भएको छ ।
कांग्रेसले सवै ठाउँमा इमानदार भएर गठबन्धन गर्ने कुरामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल अझै ढुक्क देखिएका छैनन् । कांग्रेस भित्र पनि गठबन्धनका पक्ष र विपक्षका दुई धार भएका कारण यसको प्रयोग कसरी हुन्छ त्यसको निक्यौल भईसकेको छैन् । महानगर र उपमहानगरमा केन्द्रबाट गठबन्धन गर्ने र अन्य स्थानहरुको स्थानीय स्तरबाट नै गर्ने निर्णय गरेका कारण माओवादी ढुक्क नदेखिएको हो ।
पछिल्लो समय एमाले फुटेका कारण कांग्रेसले एमालेलाई कमजोर महशुस गरेर कांग्रेस नै ठूलो शक्ति मानेको ठाउँमा माओवादीसंग गठबन्धन गर्ने सम्भावना न्यून देखिन्छ । अर्को तर्फ पहिलो स्थानीय तहको निर्वाचनको अनुभवमा कांग्रेस र माओवादीको गठबन्धन धेरै ठाउँमा असफल भएका कारण पनि गठबन्धन प्रतिको धेरै कार्यकर्ताहरुको विश्वास छैन् ।
एता, पर्वत जिल्लामा पनि गठबन्धनको चर्चा चले पनि हालसम्म त्यसले ठोस आकार पाएको छैन् । तत्कालीन अवस्थामा एमालेले ४ पालिका र ३७ वडा जितेका कारण जिल्लामा एमाले पहिलो र बलियो शक्तिको रुपमा उदाएको थियो । दोस्रो चरणसम्म आइपुग्दा एमालेमा आएको फुटका कारण कांग्रेसले आफूलाई बलियो शक्तिको रुपमा हेरेको छ ।
गठबन्धन प्रति जिल्लामा कांग्रेसका अधिकांश जिल्ला स्तरीय नेताहरुको विश्वास नभएका कारण माओवादीलाई गठबन्धन गर्न धौ धौ परेको छ भने, कम्युनिष्ट पाटीको चिन्ह्मा मत हाल्ने कुरामा कांग्रेसका अधिकांश कार्यकर्ताहरु सहमत नभएका कारण गठबन्धन प्रति प्रश्न उठिरहेको छ । अर्को तर्फ, माओवादीले पहिलो निर्वाचनमा प्राप्त गरेको सिटसंख्या कांग्रेससंग गठबन्धन गरेर बढाउने पक्षमा छ । कांग्रेसले बृत्तमा भने निर्वाचन पछि सवै बाम एक ठाम हुँदा माओवादीलाई दिएको मत खेर जाने तर्कले स्थान पाइरहेको छ ।
माओवादीले भने आफ्नो कम जनमत भएको ठाउँहरुमा पनि कांग्रेसको धेरै मत लिएर निर्वाचन जित्ने गरी सिटहरुको प्रस्ताव गरीरहेको छ । केहि कांग्रेस नेताहरुको ठम्माई गठबन्धन विना नै कांग्रेस पहिलो दल बन्ने वातावरण बनिरहेको बेला कम्युनिष्ट पाटीसंग गठबन्धन किन गर्ने भन्ने देखिन्छ ।
जिल्लामा कम्युनिष्ट पाटीहरु मिलेर धेरै पटक कांग्रेस माथि प्रहार गरेको उदाहरण भएका कारण पनि कांग्रेस कार्यकर्ता माओवादी प्रति धेरै सकारात्मक देखिएका छैनन् । देश भर भएको संघ र प्रदेशको निर्वाचनमा मात्र होइन् जिल्लामा हुने संस्थागत निर्वाचनहरु ब्यापार संघ, खानेपानी समिति र पत्रकार महासंघमा समेत कम्युनिष्टहरु एकै ठाउँमा देखिएका थिए । कांग्रेस प्रति कम्युनिष्टहरु बेलाबखत उग्र भएर प्रस्तुत हुने गरेको घटनाले पनि कार्यकर्ताहरुमा कम्युनिष्टसंगको गठबन्धनमा विश्वास देखिदैन् ।
अर्को बिषय, जिल्लामा माओवादी आन्दोलनको बेलामा सवै भन्दा धेरै पिडित कांग्रेस कार्यकर्ता थिए । तत्कालीन अवस्थामा मालेबाट माओवादी बनेका नेताहरुले कम्युनिष्टका कार्यर्ताहरुमा कम आक्रमण गरे पनि कांग्रेस भने पहिलो निशासामा परेको थियो । तत्कालीन अवस्थामा कांग्रेसले संसदीय निर्वाचनहरुमा बिजयी हासिल गरेको र ठूलो शक्ति कांग्रेस बनेका कारण पनि माओवादीको निशानामा प्रत्येक गाउँमा कांग्रेसका कार्यकर्ता परेका थिए ।
आन्दोलनको बेलामा माओवादीबाट भोगेको पिडामा रुमलिएका कांग्रेस कार्यकर्ताले निर्वाचनमा माओवादीकै चुनाव चिन्ह्मा भोट हाल्ने विषयमा स्वयम् कांग्रेस कार्यकर्ताहरु सहमत देखिएका छैनन् । तत्कालीन अवस्थामा माओवादी आन्दोलनको बेलामा हरिदत्त तिवारी हत्याकाण्ड देखि, शिक्षक, तत्कालिन जनप्रतिनिधिहरु, ब्यापारी र राजनीतिज्ञहरु गाउँबाट विस्थापीत भएका थिए । कपाल मुण्डन, शारीरिक यातना र कुटपिट तथा धनसपत्ति लुटपाटको चपेटामा परेका कांग्रेस कार्यकर्ताहरु र माओवादीको वीचमा जनआन्दोलन पछि कुश्मा बजारमा दुई पक्षिय झडप समेत भएको थियो । जिल्लाका कुनै पनि मोर्चाहरुमा आपसी सन्तुलनमा नदेखिएका दुई धुव्र वीच चुनावी तालमेलको स्वरुप कस्तो हुन्छ त्यो निक्यौल अझै भईसकेको छैन् । स्थानीय तहको निर्वाचनमा माओवादीमा मत हालेका कार्यकर्ताहरु माओवादी नेतृत्वले जितेपछि उनीहरुकै कार्यकर्ता हुने भय कांग्रेस भित्र जिवित नै छ ।
पहिलो निर्वाचनको मतपरिणामका आधारमा आगामी निर्वाचनमा माओवादी एक्लै निर्वाचनमा जाँदा कुनै पालिकाहरुमा विजयी हासिल गर्नसक्ने मत देखिदैन् । ४ पालिका मध्ये ३ पालिका प्रमुख र सवै पालिकामा उप प्रमुख दावा गरेको माओवादीले जिल्लामा कांग्रेससंगको समिकरणमा जिल्लामा झण्डै २ दर्जन वडाहरुमा वडा अध्यक्षमा दावा गरेको छ ।
कांग्रेस नेतृत्व भने बढिमा १ पालिका प्रमुख र एमालेको बहुमत भएका वडाहरु मध्ये केहि वडाहरुमा मात्र नेतृत्व दिने मनसायमा देखिन्छ । निर्वाचनमा गठबन्धन नहुँदा पनि माओवादी कार्यकर्ताहरुको भोट कांग्रेसमा पार्न सकिने आकलन गरेको कांग्रेसले कांग्रेस कार्यकर्तालाई कम्युनिष्ट पाटीमा भोट हाल्न लगाउने वा एक्लै निर्वाचनमा जाने केहि दिन पछि वस्तुगतः विश्लेषण सहित निक्यौल गर्ने कांग्रेस श्रोत बताउँछ । समाचार विश्लेषण




