२ चैत, पर्वत । जिल्लाका ७ स्थानीय तह मध्ये गाउँपालिकाको प्रशासकीय भवनको निर्माण सम्पन्न गर्ने पहिलो गाउँपालिका विहादी बनेको छ । जिल्लाको विहादी गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नव निर्मित प्रशासनिक भनको उद्घाटन गरेका छन् ।
भवन निर्माण कार्य २०७७ साल जेठ मा सुरु भई २०७८ माघमा सम्पन्न भएको थियो । भवन निर्माणको लागि ३ करोड १५ लाख ५५ हजार ८ सय रुपैयाँ धुलिखेल निर्माण सेवालाई जिम्मा दिईएको र समयमै निर्माण कार्य सम्पन्न भएको विहादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुव्र दयालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सीनाले जनताको मत जितेर मात्र निर्वाचनमा मत लिनुपर्ने धारणा राखे । उनले स्थानीय तहको निर्वाचन समिपमा आएको भन्दै निर्वाचनलाई शान्तिपूर्ण तरिकाले जनमत लिने गरी दलहरुले निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखे ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य गुणाखर बस्याल, पूर्वमन्त्री तथा गण्डकी प्रदेशका सांसद विकास लम्साल, प्रमुख जिल्ला अधिकारी देबी कुमारी पाण्डे खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी कार्यक्रममा मोदि गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पौडेल, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी लगाएतले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता बिहादी गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुसालले गरेका थिए ।




