Print

शैक्षिक गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा भर्ना दर बढ्यो

२६ फागुन पर्वत । उमेरले नेटो काट्दै गरेकी बृद्ध आमा बिद्यालयको प्राङगणमा आईन् । पटुकामा राखेको रुमालको पोको फुकाउँदै रकमको बिटो बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्षलाई दिईन् ।

नानी यो रुमालमा जति पैसा छ बिद्यालयको उन्नतीका लागि खर्च गर्नुस भनेर आमाले थमाएको पोको खोल्दा ४० हजार रुपैया रहेछ । सामुदायिक बिद्यालयमा भौतिक र शैक्षिक सुधार हुन थालेपछि खुसी हुँदै गएका अभिभावकले गाँस कटाएर रकम सहयोग गर्न थालेपछि पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङकी नर्वदा चापागाईले यसरी रुमालमा संकलन गरेर राखेको रकम बिद्यालयलाई दिएकी हुन्् । पाङ धैरेनी माविको भवन उद्घाटन कार्यक्रमको दिनमा नर्वदा जस्ता धेरै अभिभावकले विद्यालयलाई सहयोग गरेका छन् ।

स्थानिय पाङ धैरेनी माबिमा पछिल्लो समयमा बिद्यालयको भौतिक र शैक्षिक वातावरणमा उल्लेख्य सुधार आएको देखेपछि गएको माघमा ४० हजार सहयोग गरेकी आमा नर्वदाले बिद्यालयका नयाँ भवन उद्घाटन कार्यक्रममा थप ६० हजार १ सय ११ रुपैया पनि यसैगरी रुमालको पोको फुकाउँदै बिद्यालयलाई दिईन् । ‘गाउँमा नै स्कुलमा केटाकेटीलाई राम्रो पढाई भएको देखेपछि मैले बृद्धभत्ता र आफुँले जम्मा गरेको धन सहयोग गर्न मन लाग्यो।’ आमा नर्बदाले भनिन् ‘हामी बुढाबुढीले सन्तानहरुको शिक्षामा सहयोग गर्न पाउँदा स्वर्गमा पुगेको आनन्द आउँदो रहेछ।’ उनले बिद्यालयलाई दिएको रकमबाट बिद्यालयमा उनका दिवंगद श्रीमान जुक्तिबल्लभ चापागाईको स्मृतिमा ‘जुक्तिबल्लभ नर्वदा चापागाई’ स्मृतिकोष स्थापना गरिने भएको छ ।

२ बर्ष अघिसम्म झण्डै १ सय जनाको संख्यामा रहेका बिद्यार्थी बढेर डेढ बर्षको अबधमिा २ सय ५० भन्दा बढी भएका छन । निजी बिद्यालयमा जाने बिद्यार्थीहरु धमाधम सामुदायिक बिद्यालयमा आइरहेको अभिभावक पिताम्बर रिजालले बताए । ‘एक जना अध्यक्ष पनि राम्रो संग खट्ने हो भने धेरै सुधार हुँदो रहेछ।’ उनले भने ।

बिद्यालयको भौतिक र शैक्षिक बिकासका लागि मित्र राष्ट्रसंग करोडौ रुपैया सहयोग लिने गरि प्रकृया अगाडी बढेको छ । उक्त सहयोग आएमा यो बिद्यालय यस क्षेत्रकै नमुना बिद्यालयको रुपमा बिकास हुने अपेक्षा राखिएको छ । अंग्रेजी माध्यममा अध्यापन हुन थालेपछि विद्यालयमा आकर्षण बढेको हो ।

बिद्यालय उद्घाटन कार्यक्रममा समाजसेवी तथा बिद्यालयका पुर्ब अध्यक्ष तेजनाथ रिजालले ४ लाख रुपैया सहयोग प्रदान गरेका छन् । उनले यस अघि पनि १ लाख २१ हजार सहयोग गरेका थिए । बिद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने, भवन, कम्युटर, बिज्ञान प्रयोगशाला बनाउने लगायतका सुधार भएपछि खुसी भएका रिजालले त अब बिद्यालयमा निजी स्रोतमा शिक्षक राखेर तलब खुवाउन पुग्ने गरि थप सहयोग गर्ने घोषणा पनि गरे ।

सोही समारोहमा पारस सापकोटा र मिरादेबी सापकोटाले आमाबुवाको नाममा‘मिनेश्वर टिकादेबी’ अक्षयकोषका लागि १ लाख सहयोग गरे । बाबुराम रिजाल र उनकी धर्मपत्नी चन्द्रकला रिजालले पनि बाबु आमाको स्मृतिमा अक्षयकोष राख्न १ लाख रुपैया सहयोग गरे । यस्तै स्वर्गिय मोहनप्रसाद रिजालको स्मृतिमा चन्द्रकला तथा छोरा संजय रिजाल र वूहारी लक्ष्मी रिजाल वाट पनि १ लाख १ हजार १ सय एघार दान घोषणा गरे । विद्यालयमा एकै दिन ७ लाख ६३ हजार १ सय ११ संकलन भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष स्वस्थानी रिजालले बताईन । यस्तै तल्लोपाङकै पदमपाणी रिजालले २५ हजार मुल्य पर्ने प्रिन्टर हरिवन स्मृतीकोषका अध्यक्ष लक्ष्मीरमण वनले पनि ५० हजार पर्ने प्रोजेक्टर बिद्यालयलाई सहयोग गरेका छन् ।

अध्यक्ष रिजालका अनुसार अहिले बिद्यालयमा जन्मदिन, ब्रतबन्ध, चौरासीपुजा, बिबाह देखि बार्षिक पुण्यतिथिमा होस वा दिवंगद बाबुआमा र सन्तानको स्मृतिमा अक्षयकोष स्थापना गर्ने अभियान चलेको छ । अध्यक्ष रिजाल र उनका श्रीमान समाजसेवी रामजी रिजालले दिवंगद छोरा अरुणको स्मृतिमा २०६५ सालमा नै ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका थिए। गत बर्ष उनले पनि उक्त अक्षयकोषमा थप १ लाख जम्मा गरेका छन् । अहिले त्यही कोषमा ७ लाख ६५ हजार जम्मा भैसकेको छ ।

यस अघि पदमपाणी रिजाल र रामचन्द्र रिजाल ब्रतबन्ध, बिबाह र जन्मोत्सबमा खर्च कटाएर १ लाख सहयोग गरेका थिए । प्राप्त भएको सहयोगबाट बिद्यालयका निजी स्रोतका शिक्षक राखेर अंग्रेजी माध्यममा सुरु भएको पठनपाठनलाई अझै प्रभाबकारी बनाउने योजना रहेको अध्यक्ष रिजालले बताईन् । ‘अक्षयकोषको ब्याजबाट कम्तीमा दुई जना शिक्षक निजी स्रोतमा राख्नुपर्छ,’ उनले भनिन् अझै अक्षयकोषलाई बढाएर त्यसको आवश्यकता पुरा गर्ने सोचमा छौ।’