Print

दम्पत्तिको खुशी साट्ने थलो कुश्माको जीप लाईन

१६ फागुन, पर्वत । पछिल्लो समय नेपालीहरुको खर्च गर्ने दर बढेर गएको छ । विभिन्न उपलक्ष्यमा स्वेदेश भित्र घुमघाम गर्ने, खर्च गर्ने र मनोरञ्जन गर्नेहरुको संख्या पछिल्लो समयमा बढेर गएको हो । पर्यटक भनेको विदेशी मात्र हुन भन्ने नेपाली परम्परा पछिल्ला बर्षहरुमा परिर्वतन भएको छ । अचेल स्वदेशी पर्यटकहरुले समेत विभिन्न पर्यटकीय स्थानहरु खचाखच हुन थालेका छन् ।

आयको स्तर बढ्दै जाँदा स्वभाविक रुपमा मानिसले खर्च गर्नसक्ने क्षमतामा पनि बृद्धि गर्छ । कोरोना भाइरसको आतंक पछि विदेशी पर्यटकहरु नेपालमा आउन नसकेको अवस्थामा धेरै पर्यटकीय स्थानहरुमा नेपाली पर्यटकले खचाखच बनाई रहेका छन् ।

विदाको दिनमा घुम्ने चलन विदेशहरुमा प्रायः हुने गर्छ, यो चलन नेपालमा पनि शुरुवात भईसकेको छ । अर्को तर्फ, जन्मदिनमा भब्य पाटी गर्ने, हनिमुन मनाउन मनग्य खर्च गर्न चलनले समेत नेपालमा स्थान पाउन थालेको छ । यो प्रचलन क्रमशः नेपालमा संस्कृतिको रुपमा विकसित हुँदैछ ।

पछिल्लो समय नेपालका धेरै स्थानहरुमा खुलेका जीप लाईन, बन्जी जम्प, प्याराग्लाइडिङ र अन्य साहसिक खेलहरुमा पनि नेपालीहरुको सहभागीता उल्लेख्यनीय भईरहेको छ । विभिन्न बहानामा रमाईलो गर्ने मध्ये पर्वतका एक जोडीले जीपलाईनमा विवाहउत्सवको रमाईलो मनाएका छन् । विवाह भएको ३६ बर्ष पुगेको अवसरमा अशोक कर्माचार्य र सम्झना कर्माचार्यले कुश्मामा हार्नेस जीपलाईनमा खुशी साटासाट गरेर विवाहउत्सव मनाएका हुन् ।

रोमयञ्चक र सुखद पललाई स्मरणीय बनाउन उनीहरुले जीपलाईनबाट एकै साथ फ््लाईङ गरेका हुन् । १ हजार ४ सय ८० मिटरको लामो जीपलाईनमा उनीहरुले विवाहउत्सवको अवसरमा फ्लाइङ गरेका थिए । ‘खुशी साट्ने धेरै विकल्प थिए तर हामीले यहि विकल्प छान्यौ’ कर्माचार्य जोडीले भने । उनीहरुले साहसिक खेल जीपलाईनमा निकै रमाईलो भएको प्रतिक्रिया दिए ।

यो खवर अर्थ वीट साप्ताहिकमा छ ।