७ असोज, पर्वत । नेपाली कांग्रेस पर्वतले कार्यकर्ता राहत कोषमा १ करोड रकम रहने घोषणा गरेको छ । कांग्रेस जिल्ला कार्यालय पर्वतको नव निर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले उक्त कोषको घोषणा गरेका हुन् ।

हाल २० लाख रुपैंया रहेको उक्त कोषमा रकम थप गरी १ करोड रकम राहत कोषमा रहने जोशीले घोषणा गरेका हुन् । कांग्रेस पर्वतको नव निर्मित भवनमा वचत हुन आएको ६५ लाख रुपैंया मध्ये २० लाख रुपैंया कार्यकर्ता राहत कोषमा राख्ने घोषणा गरिएको हो । कोषमा अपुग रकम शुभेच्छुक कार्यकर्ताबाट नै उठाउने जोशीले बताए ।
कोषको रकम अक्षय कोषमा राखि ब्याजको रकमबाट बाढि, पहिरो र प्राकृतिक प्रकोपमा परेका कार्यकर्ताहरुलाई सहयोग गरिने जोशीको भनाई छ ।
कांग्रेसले भवन निर्माणबाट बचत भएको रकम मध्ये ४० लाख बराबरको रकम भवन संरक्षण अक्षय कोषमा राख्ने समेत निर्णय गरेको छ ।




