२७ भदौ, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारलाई दक्षिणी क्षेत्र जोड्ने सडक मार्ग कुश्मा मोदीवेणी फलेवास सडक पहिरोले बगाएको छ । पहिरोले सडक बगाएसंगै भरखरै कालोपत्रे गरेको सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

पूर्वाधार कार्यालय पर्वतले उक्त सडक गत आर्थिक बर्षमा कालोपत्रे सम्पन्न गरेको थियो । सडक कालोपत्रे गरे पनि सडक पहिरोका कारण भत्किएको छ । सडकको ठूलो भाग पहिरोमा परेर भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ । फलेवास र दक्षिण क्षेत्र जानका लागि सदरमुकाम कुश्माबजार देखि निकै छोटो दुरीमा पर्ने उक्त सडक मर्मत गर्न करिब १ करोड लागत लाग्ने अनुमान गरिएको छ ।
फलेवास नगरपालिका, विहादी गाउँपालिका, महाशिला गाउँपालिका र पैयू गाउँपालिकाको लागि यो सडक सञ्चालन हुँदा सदरमुकाम देखि छोटो हुन्छ । आगामी हिउँद देखि सडक सञ्चालन गर्ने लक्ष्य रहे पनि सडकको ठूलो भाग पहिरोको चपेटामा परेपछि सडक पुरै अवरुद्ध बनेको हो । अहिल उक्त सडक हुँदै कुश्मा देखि मोदीवेणीसम्मको सडक सञ्जाल पनि टुटेको छ ।




