२४ भदौ, पर्वत । पहिरोका कारण अवरुद्ध मध्य पहाडी लोकमार्गको पर्वत खण्डको पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीका अनुसार पहिरो हटाउने कार्य अन्तिम चरणमा पुगेको हो ।

पहिरोका कारण विभिन्न ठाउँमा अवरुद्ध भएको सडक आज दिउँसो देखि एकतर्फी सञ्चालनमा आउने प्रहरी नायव उपरिक्षक बुढाथोकीले जानकारी दिए । गत विहिबार राती देखि परेको अविरल बर्षातका कारण मध्य पहाडी लोकमार्गको चुवा देखि देखि भ्याप्लेसम्मको विभिन्न खण्डमा भिषण पहिरो गएको थियो ।
पहिरोका कारण मध्य पहाडी लोकमार्ग विगत १ साता देखि अवरुद्ध छ । अवरुद्ध सडक खुलाउने प्रयास भए पनि पहिरो ठूलो भएको कारण बम विस्फोट गरिएको थियो । मंगलबार र बुधवार बम विस्फोट गरिए पछि आज विहिवार दिउँसो देखि आउने गरी काम भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।
बम विस्फोट पछि पनि सडकमा अझै ठूलो ढुंगा रहेका कारण उक्त ढुंगा फुटाउने प्रयास भइरहेको बुढाथोकीको भनाई छ । आज दिउँसो देखि साना गाडिलाई एक तर्फी सञ्चालन गर्न सकिने उनले जानकारी दिए । ठूला सवारी साधनको लागि साँझसम्म प्रयास गरिने प्रहरीको भनाई छ । सडकमा रहेको बाँकी ढुंगा फुटाउने कार्यका लागि पुनः विस्फोट गर्न पर्ने भएमा अर्को विस्फोट गर्ने गरी तयारी भइरहेको बुढाथोकीले जानकारी दिए ।
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पर्वत लगाएत बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा भित्रने सवै सवारी साधन वीच बाटोमै अलपत्र परेका छन् ।




