२४ भदौ, पर्वत । माधव नेपालले एमाले टुक्राएर गठन गरेको नेकपा समाजवादीको प्रभाव पर्वत जिल्लामा नगन्य अवस्थामा पर्ने भएको छ । एक भेलाको आयोजना गरी ७५ कमिटि जिल्ला समितिको गठन गरिएको भन्दै ६२ जनाको नाम सार्वजनिक गरेको उक्त संगठनमा अधिकांश भने सहभागी नहुने भएका छन् ।

एमाले पाटीका वडा सदस्य समेत नरहेकाहरुलाई जिल्ला सदस्य बनाएर जिल्ला कमिटि घोषणा गरिए पनि समाजवादी पाटीमा सहभागी हुनेको संख्या निकै न्यून हुने देखिएको छ । यस अघि माधव समूहमा सहभागी भनिएका जिल्लाका अधिकांश नेताहरु पनि विभाजनमा नलाग्ने भएपछि समाजवादी पाटीलाई अर्को झट्का लागेको थियो । माधव नेपालले घोषणा गरेको एमालेको समानान्तरण कमिटिका अध्यक्ष भक्त कुँवर र सचिव पदमपाणी शर्मा समेत एमालेमै रहने भएपछि जिल्ला कमिटि घोषणा समेत समाजवादीलाई हम्मे हम्मे परेको थियो ।
केन्द्रिय सदस्यहरुको उपस्थितमा घोषणा गरिएको समाजवादी पाटीका ६२ जना मध्ये एमाले जिल्ला कमिटिका झण्डै १० जनाको नाम उल्लेख गरिएको छ । तर जिल्ला कमिटिका ति मध्ये अधिकांश सदस्य आफूहरु कार्यक्रममा सहभागी नभएकोले आफू समाजवादीमा गएको भन्ने कुरा सत्य नरहेको बताईरहेका छन् । एमालेको जिल्ला कमिटि वैठकमा सहभागी हुने जानकारी गराएका जिल्ला कमिटि सदस्यहरु समाजवादी पाटीमा नरहने भएका हुन् ।
यसैगरी जिल्ला कमिटिमा राखिएको भनिएका अन्य सदस्यहरु पनि त्यो पाटीमा आफू संग्लन्न नभएको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् । कुश्मा १४ का एमाले पुर्व गाविस उपाध्यक्ष इन्द्रबहादुर गुरुङ र जलजलाका एमाले नेता प्रेमबहादुर विकले आफूलाई समाजवादीसंग नाम जोडेको भन्दै आपत्ति जनाएका छन् ।
समाजवादीमा एमालेका पूर्व जिल्ला सचिव मोती प्रसाद पौडेलको नेतृत्वमा जिल्ला कार्य समितिको घोषणा गरिएको छ । उक्त पाटीमा एमालेको तर्फबाट निर्वाचत १ सय ९६ जना जनप्रतिनिधि मध्ये एक जना वडाअध्यक्ष र एक जना वडा सदस्य मात्र सहभागी भएका छन् । तत्कालीन अवस्थामा माधव समूह गनिएका सवैजसो नेताहरु भने एमालेमै रहने भएको एमाले श्रोतले जनाएको छ ।




