Print

पहिरोमा परी मृत्यु भएकाहरुको सामूहिक अत्यष्टि, शोकमा डुब्यो पर्वत

२० भदौ, पर्वत । पहिरोले एकै परिवारका ५ जना सहित जिल्ला भर ११ जनाको एकै दिन मृत्यु भयो । विहिवार राती आएको भिषण बर्षातले जिल्लाको विभिन्न ठाउँमा पहिरो जाँदा पहिरोमा पुरीएर ११ जनाको मृत्यु भएको शुक्रबार पुष्टि भयो । कुश्मा नगरपालिका भित्रका विभिन्न वडामा गएको पहिरोका कारण ति मानिसहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बर्षातका कारण पहिरोले मानिस पुरिएपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र स्थानीयबासीले ११ जनाको शव माटो भित्रबाट निकालेका थिए । गत बर्ष मात्रै कूश्मा कै दुर्लुङमा गएको पहिरोले ९ जनाको मृत्यु भएको थियो । पिडाको त्यो घाउ विर्सन नपाउँदै जिल्लामा ११ जनाको मृत्यु भएपछि पर्वत जिल्ला नै शोकमा डुबेको छ । मृत्यु भएकाहरुको शनिवार मोदीवेणी घाटमा अन्त्यष्टि गरिएको छ ।

सामूहिक अत्यष्टिमा प्रतिनिधि सभाका सांसद पदम गिरी सहितका स्थानीयबासी बासीहरुको उपस्थिती रहेको थियो । पिडामा रहेको पर्वत जिल्लामा समवेदना प्रकट गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना समेत गृह जिल्ला पर्वत आइपुगेका थिए । पहिरोले ११ जनाको मृत्यु मात्र भएन ३ दिनसम्म विद्युत सेवा, टेलिफोन सेवा र इन्टरेनट सेवा समेत जिल्ला भर बन्द भयो ।

पर्वतको दुर्लुङ्गमा पहिरोमा परेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा परिवारकै ५ जनाको मृत्यु भएको हो । उहाँकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि मृत्यु भएको छ ।

साथै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश र मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेलको मृत्यु भएको हो । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

दोहोरी गीत गाउने फुलमाया पहिरोमा पुरिइन्

पर्वत जिल्लामा निकै लामोसमय स्टेज दोहोरी गीत मार्फत सवैले चिनिएकी फुलमाया थापा पर्वतको आम्बोटमा बस्ने गर्थिन् । दोहोरी गीतमा दशर्कहरुलाई नचाउन र खुशी बनाउन सिपालु फुलमाया शुक्रबार विहान भने पहिरोमा पुरिइन् । आम्बोट वस्तीमा आफ्नो घरमा एक्लै बसेकी फुलमाया एक्कासी आएको पहिरोमा पुरिएपछि स्थानीयले उद्धार गर्दा उनको शव फेला परेको थियो । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान पर्वत शाखाले फुलमायाको निधन प्रति गहिरो शोक ब्यक्त गरेको छ ।