२० भदौ, पर्वत । एक दर्जन भन्दा बढि स्थानमा पहिरो खसेपछि मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा बन्द भएको छ । निरन्तरको बर्षातका कारण सडक खण्डमा आएका दर्जन भन्दा बढि पहिरोहरुका कारण मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अन्तर्गत कुश्मा चुवा देखि पातिचौरसम्मको पुरै भाग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यात्रा कष्टकर बनेको छ । कुश्मा देखि पोखरा हुँदै अन्य स्थानमा जाने सवै सवारी साधन कुश्मामा नै थुनिएका छन् भने धौलागिरी क्षेत्र भित्रने सवै सवारी साधन पातिचौर बजार क्षेत्रमा नै थुनिएका छन् । पहिरो हटाउने प्रयास भइरहे पनि सडक पुरै वगेका कारण कम्तिमा १ साता लाग्ने प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक अवरुद्ध भएपछि वैकल्पिक सडकहरु
सडक अवरुद्ध भएपछि वैकल्पिक रुपमा यात्रुहरु पातिचौर बजार देखि कुश्मासम्म झण्डै ९ किलोमिटरको पैदल यात्रा गरीरहेका छन् । अवरुद्ध सडक मध्ये चुवा खण्डसम्म मात्रै सडक सञ्चालन हुने हो भने पैदल यात्रा ६ किलोमिटर गर्नुपर्नहुन्छ । पहिरोग्रस्त क्षेत्र यात्रा गरेर अर्को स्थानबाट सवारी चढनुपर्ने बाध्यता यात्रुहरुलाई रहेको छ ।
अर्को तर्फ रोकिएका सवारी साधन सञ्चालनका लागि भने दुई वटा विकल्पहरु रहेका छन् । कुश्मा देखि दुर्लुङ हुँदै बाजुङबाट पातिचौर बजार पुग्ने वैकल्पिक सडक रहेको छ । यो सडक खण्डमा कुश्मा देखि दुर्लुङसम्म झण्डै ८ किलोमिटर सडक पक्कि छ । त्यसपछिको झण्डै १० किलोमिटर कच्चि सडकको यात्रा पछि पातिचौर बजार क्षेत्रमा पुग्न सकिन्छ । पातिचौर बजारबाट मध्यपहाडी लोकमार्ग फेला पर्दछ । साना पिकअप सवारी साधन र मोटरसाइकलहरुका लागि यो सडक वैकल्पिक सडक हो ।
यसैगरी अर्को वैकल्पिक सडकको रुपमा मोटरसाइकलका लागि अर्को सडक पनि रहेको छ ।
कुश्मामा अलपत्र परेका मोटरसाइकलहरु कुश्माको बडागाउँ स्थित कुश्मा ज्ञादी पुल तरे पछि साइकलचोक हुँदै पिपलटारीको गहतेपोखराबाट ठुलिपोखरी पुग्न सकिन्छ । ठुलिपोखरीबाट खौला कार्किनेटा हुँदै स्याङजाको नौडाडामा यो सडकबाट निस्कन सकिन्छ । नौडाडाबाट पोखरा वालिङ स्याङजा सडक खण्ड फेला पर्दछ । यो सडक मोटरसाइकलका लागि वैकल्पिक सडक हुन सक्छ । यो खण्डमा कुश्मा देखि साइकलचोक हुँदै गहते पोखरासम्मको करिब ५ किलोमिटर सडक कालोपत्रे छ । गहतेपोखरा देखि ठुलिपोखरीसम्मको झण्डै ४ किलोमिटर सडक कच्चि छ । ठुलिपोखरी देखि कार्किनेटा हुँदै स्याङजा जिल्लाको सिमानासम्म भने सडक सवै कालोपत्रे पक्कि छ । स्याङजा जिल्लाको खण्ड पनि बाह्ै महिना सवारी चल्ने गरी बनाईएको छ ।
सडकमा निकै ठुलो पहिरो गएका कारण सडक खण्ड पुरै अस्तब्यस्त रहेको छ । मध्यपहाडी लोकमार्गको खण्डै १० किलोमिटरमा समस्या देखिएका कारण पैदल यात्रा बाहेकको ग्रामीण रुट प्रयोग गरेर साना सवारी साधनबाट यात्रा गर्न सकिनेछ ।




