Print

एमाले फुटको असर पर्वतमा देखिएन, माधव समूहको जिल्ला कमिटि विघटन हुँदै

१० भदौ, पर्वत । नेपाल कम्युनिष्ट पाटी एमाले विभाजनको असर पर्वतमा सामान्य रुपमा देखिएको छ । एमालेलाई विभाजन गरी माधव नेपालले नेकपा एकिकृत समाजवादी नामक पाटी दर्ता गरेसंगै पर्वतमा त्यसको असर कम देखिएको हो । नेकपा एमालेमा आन्तरीक संघर्ष गरेर माधव नेपाललाई साथ दिएका जिल्लाका नेताहरु नयाँ गठन भएको पाटीमा नजाने संकेत देखिएको छ । एक पटक विभाजनको पिडा खेपिसकेको नेकपा एमाले पुनः विभाजन हुँदा विभाजनकारी पाटीमा नेताहरुको आकर्षण नदेखिएको हो ।

एमाले र माओवादी मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टीमा नै अन्तरसंघर्ष स्वरुप तत्कालीन एमालेमा दुई धार देखिएका थिए । अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल वीच देखिएको अन्तर विरोधको केहि स्वरुप पर्वत जिल्लामा पनि देखिएको थियो । दुई समूहमा रहेका तत्कालीन एमालेहरु अदालतले नेकपा बाट एमाले बनाए पछि पनि निरन्तर रह्यो । हिजो मात्रै दल दर्ताको प्रमाणपत्र माधव समूहले लिएसंगै त्यो समूहमा रहेका नेताहरु नेकपा एमाले मा नै रह्ने गरी आन्तरीक तयारी शुरुवात गरेका छन् ।

एमालेमा असन्तुष्ट रहेका स्थायी कमिटिका सदस्यहरु समेत एमालेमा नै रहने भएपछि त्यसको स्पष्ट प्रभाव जिल्ला तहमा देखिएको हो ।

जनप्रतिनिधि सवै एमाले मै

जिल्लामा बहुमत स्थानीय तह, प्रदेश र संघका सवै प्रतिनिधिहरु एमालेका नै रहेका छन् । संघीय सांसदमा २ जना, प्रदेश सभामा २ जना र स्थानीय तहमा समन्वय समिति समेत गरी १० जना जनप्रतिनिधिहरु छन् । वडा तहमा ३७ वटा वडाहरुका वडाअध्यक्ष एमालेको तर्फबाट विजयी भएका छन् । संघीय सांसद पदम गिरी एमालेका जिल्ला अध्यक्ष हुन् । आन्तरीक धुव्रीकरणमा समेत ओली समूहमा खरो उत्रिएका गिरीसंगै प्रदेश सभाका सांसद विकास लम्साल र जुनादेवी नेपाली एमालेमै रहनेछन् ।

४ वटा स्थानीय तहका ८ जना जनप्रतिनिधि र समन्वय समितिका प्रमुख उप प्रमुख पनि एमालेकै मुलधारमा रहनेछन् । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष सेती महत, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हिराकुमारी राना, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल र उपाध्यक्ष डम्मरकुमारी गुरुङ, फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी यस अघि देखि नै ओली नेतृत्वको समूहमा रहेका छन् । उनीहरु यस अघि देखि नै मुल प्रवाहको एमालेमा रहने बताउँदै आएका छन् । यसैगरी समन्वय समितिका प्रमुख मनोहर वि पौडेल र उपप्रमुख यामकुमारी राना पनि एमाले मै रहनेछन् ।

पालिकाका जनप्रतिनिधिहरु मध्ये माधव समूहको जिल्ला सचिव घोषणा भएका नेकपा एमालेका सचिव तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा नयाँ पाटी दर्तासंगै मुलधारको एमालेमा रहने निश्चित भएको बताइन्छ । माधव समूहको रुपमा यस अघि देखिएका अधिकांश वडाअध्यक्षहरु पनि एमालेमै रहने भएका छन् । जलजला, मोदी, विहादी र पैयू गाउँपालिकाका सवै वडाअध्यक्षहरु एमालेको मुल धारमै रहेका छन् ।

कुश्मा नगरपालिका वडा न ७ का सुवासचन्द्र पौडेल, वडा न १० का अमर सुनार र वडा न १४ का भिम गुरुङ मध्ये सवै जसो नै एमालेमा रहने भएका छन् । महाशिला ५ का जीवन उचै ठकुरी, फलेवास ८ का मनबहादुर कुँवर पनि एमालेमा नै रहने भएपछि जनप्रतिनिधिको सत् प्रतिशत संख्या नै एमालेमा रहने भएको छ ।

युवा पुस्ता एमालेमा, पुरानो पुस्ता दोधारमा

नेकपा एमाले भित्र माधव पक्षधर भनेर चिनिएका नेताहरु राजुप्रसाद पौडेल, मित्रलाल बस्याल यस अघि नै ओलीकै नेतृत्वको नेकपामा सहभागी भएका थिए । एमाले विभाजन पछि स्वतः उनीहरु एमाले मै रहने भएपछि माधव समूहका पुराना नेताहरु दोधारमा देखिएका छन् ।

अनुशासन आयोगका केन्द्रिय सदस्य गणेश शर्मा पौडेल, पाटि पूर्व सचिव मोती पौडेल, पूर्व उप सचिव उदय सुवेदी, तत्कालीन कुश्मा नगरकमिटि संयोजक याम गुरुङ, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य तोयानाथ चालिसे एमाले मै रहने वा पाटी छोड्ने विषयमा अझै अनिर्णित बनेका छन् । उनीहरुलाई युवा पुस्ताले मुलधारकै पाटीमा रहन दबाव दिइरहेको छ भने उनीहरु भने विद्रोह गर्ने मनस्थितीमा रहेको बताईन्छ ।

एता, चालिसेले भने आफू मुल धारमा रहने मनस्थितीमा रहेको भन्दै आन्तरीक छलफल गरेर निर्णय गर्ने गरी अहिलेसम्म कुनै निर्णय लिएका छैनन् । आफू एमाले मै रहने सम्भावनालाई चालिसेले इन्कार गरेनन् ।

अनुशासन आयोगका केन्द्रिय सदस्य पौडेल, पूर्व पाटी सचिव अर्का पौडेल भने आन्तरीक छलफलमा रहेकोले निर्णय गरी नसकेकेका भनाई छ । श्रोतका अनुसार पूर्व सचिव पौडेल र उप सचिव सुवेदी भने नयाँ गठन भएको समाजवादी पाटीमा जाने मनस्थितीमा रहेका छन् ।

पूर्व सचिव पौडेलले फरक विचारलाई पाटीमा स्थान नदिइएका कारण आफू एमाले मै रहने कुरामा सत्य नहुने बताए । उता, उपाध्यक्ष भक्त कुँवर भने पाटी एकताकै पक्षमा उभिने देखिएको छ । कँुवरले पुराना नेताहरुको सम्मान हुन नसक्दा पाटीमा आन्तरीक समस्या आएको बताउँदै नेतृत्वले समान अवसर प्रदान गर्ने हो भने एमाले नै आफ्नो मुल घर भएकाले आफू विचलित नहुने बताएका छन् ।

यस अघि माधव समूहको जिल्ला अध्यक्ष समेत घोषणा भएका कुँवर र सचिव फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा दुवै एमालेमा रहने निश्चित जस्तै देखिएको छ । यसो हूँदा माधव समूहले बनाएको जिल्ला कमिटि स्वतः विघटन हुने भएको छ ।

युवा पुस्ताका जिल्ला कमिटि सदस्यह, वडाअध्यक्षहरु, युवा संघ र अनेरास्ववीयूका नेताहरु एमालेमा नै रहने भए पछि पर्वतमा पाटी फुटको असर नगन्य देखिएको छ । यस अघि जिल्ला अध्यक्ष पदम गिरीले टुट र फुटले कम्युनिष्ट आन्दोलन सफल नहुने भन्दै सवै नेता कार्यकर्तालाई एमाले कै झण्डा मुनी गोलबन्द हुन आब्हान गरेका थिए ।

माधव समूह भनिएका नेताहरु आन्तरीक छलफलमा भने जुटेका छन् । आन्तरीक छलफलमा केहि मत पाटी विभाजनको पक्षमा देखिए पनि अधिकांश नेताहरु पाटी एकता र मुल धारकै पाटीमा रहनुपर्नेमा अडिग रहेको श्रोत बताउँछ ।

यस अघि एमाले विभाजन हूँदा त्यसको नेतृत्व गरेका गणेश शर्मा पौडेल तत्कालीन अवस्थामा मालेको तर्फबाट २०५६ सालको निर्वाचनमा संघीय चुनावका उमेदवार थिए । पाटी विभाजनमा लागेकै कारण हार वेहोरेका उनी बाहेक पूर्व माले समूहमा लागेका अधिकांश नेताहरु अहिले पनि एमालेकै पक्षमा देखिएका छन् ।