Print

३५ लाखको लगानीमा पाङमा दुग्ध संकलन केन्द्र

५ भदौ, पर्वत । कुश्मा नगरपालिका १ पाङमा दुग्ध संकलन केन्द्र स्थापना भएको छ । कुश्मा नगरपालिका १ पाङ र कुश्मा नगरपालिका २ खुर्कोटका ५० परिवारको दूध संकलन गर्ने उदेश्य सहित दुग्ध संकलन केन्द्र स्थापना भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना भैँसी पकेट क्षेत्र बनाएको पाङ र खुर्कोटका बासिन्दाको सुविधाका लागि संघीय सरकार, कुश्मा नगरपालिका र कृषकहरुको तर्फबाट लागत साझेदारी गरि दुध संकलन केन्द्र शुरु गरिएको हो ।

 

केन्द्रको शुक्रवार कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै जोशीले व्यावसायिक दुध उत्पादनमा लाग्न कृषकलाई अनुरोध गरे। नगरप्रमुख जोशीले स्थानीयलाई परम्परागत शैलीमा नभै आधुनिक तबरले भैँसीपालन गरि आर्थिक उपार्जन गर्न सुझाव दिएका थिए । भारत र तराईका जिल्लाहरुमा दूध बेच्ने कृषकहरु चाँडै धनी बन्ने गरेको उदाहरण प्रस्तुत गर्दै नगरप्रमुख जोशीले दूध उत्पादन बढाउन धैरै भैँसी पाल्न स्थानीयलाई अनुरोध गरेका थिए । किसानलाई आवश्यक सहयोग गर्न र पकेट लाई सुपर जोन बनाउन पहल गनेै पनि नगरप्रमुख जोशीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख सीता काफले लामिछानेले उत्पादित दूध बजार नपाएर फाल्नुपर्ने र बजार सम्म बेच्न जानुपर्ने बाध्यता हटेको बताईन । लामिछानेले भैसीपालनलाई उद्यमको रुपमा विकास गर्न सल्लाह दिइन् । किसानलाई आवश्यक पर्ने प्रविधि, तालिम तथा अन्य उपकरण सहयोगमा नगरपालिका तयार रहेको उपप्रमुख लामिछानेले जानकारी गराएकी थिइन् ।


कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ, कुश्मा नगरपालिका १ का अध्यक्ष देबेन्द्र सुबेदी, वडा नम्बर २ का अध्यक्ष यदुनाथ शर्मा वास्तोला, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृषि प्राबिधिक अधिकृत नारायण पौडेल, नेपाली काङ्ग्रेस पाङका सभापति खगराज पौडेल, खुर्कोटका सभापति कालिभक्त शर्मा , कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रम पार्वती गुफा भैसी पकेट समितिका अध्यक्ष बाबुराम रिजालको अध्यक्षता, सचिव नरेश्वर कँडेलको स्वागत र कृष्णप्रसाद रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको ५ लाख र कृषकहरुको तर्फबाट ५ लाख लगानी जुटाएर दुग्ध संकलन केन्द्र स्थापना गरिएको छ । यसबाट ५० परिवार लाभान्वित हुने जनाईएको छ । भैँसी पकेट क्षेत्रमा किसानले १ सय उन्नत जातका र ५० स्थानीय वर्णशंकर जातका भैँसीपालन भैरहेको छ ।