Print

भत्ता बृद्धि भएपछि पर्वतका जेष्ठ नागरीकमा खुशी

१६ जेठ, पर्वत । आगामी आर्थिक बर्षको लागि सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण बाट पर्वतका जेष्ठ नागरिक खुशी भएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८/७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उहाँको चाउरी परेको अनुहारमा खुशीको भाव पोखिएको छ ।

वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आएकी कुश्मा नगरपालिका वडा न ३ की नन्दकली शर्माको मुहारमा अहिले खुशी छाएको छ । उनी अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग भइन् । उनले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई सहज हुने भन्दै सरकार सधैँ यसरी ज्येष्ठ नागरिकको सहारा बन्नुपर्ने बताइन् ।

उनी सरकारले बढाएको वृद्धाभत्ताबाट खुशी भएकी छिन । उनले भनिन, “पहिला–पहिला धेरै कम वृद्धाभत्ता हुने गरेको थियो, अहिले त वृद्धि हुँदै रु चार हजार पुगिसक्यो, सबै ज्येष्ठ नागरिक खुशी हुनुपर्छ ।”

उनीहरु मात्र होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिक वृद्धभत्तामा भएको वृद्धिले खुशी भएका छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरु हर्षित भएका छन् ।

विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा रु १०० बाट शुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट रु चार हजार पुगेको छ । कुश्मा ७ का ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष चिन्तामणी शर्मा वृद्धभत्ताले नुन, तेल, चामल खान पुग्ने बताए ।

उनले भने, “हुन त सरकारले जति बढाए पनि पुग्दैन तर सन्तुष्ट मान्ने हो भने यतिका रकम राम्रै हो ।” शर्माले भने, “सरकारले वृद्धाभत्ता बढाएको छ, यो राम्रै हो । दुःख पाएका र कम आयस्तरका ज्येष्ठ नागरिकलाई त धेरै सहयोग पुग्छ ।”