Print

पर्वतमा जनता आवास र एकिकृत बस्तीका लागि बजेट, ब्यवसायीक कागती खती सञ्चालन हुने

१६ जेठ, पर्वत । सरकारले शनिवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ७८/७९ को बजेटमा पर्वतमा एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेको छ ।

अव्यवस्थित बसोबासीहरुलाई एकिकृत बस्तीमा सार्ने प्रक्रिया शुरु गर्नका लागि एकीकृत बस्ती निर्माणलाई प्राथमिकता दिईएको हो । पर्वतमा भूकम्प, बाढि पहिरो, नदी कटान तथा भीरालो स्थानमा रहेका बस्तीलाई समथर र सुरक्षित स्थानमा सार्ने गरि उक्त कार्यक्रम शुरु हुन लागेको सरकारले जनाएको छ ।

एकिकृत बस्ती निर्माणका लागि सरकारले बजेट बिनियोजन गरेकाले अव स्थानीय तहले त्यस्ता बस्तीहरुको पहिचान गरि बस्ती स्थान्तरणको प्रक्रिया शुरु गर्नेछन् । अघिल्लो वर्षायामपछि पर्वतका स्थानीय तहहरुले एकीकृति बस्ती बनाउनुपर्ने सम्भाव्य ठाउँहरुको पहिचान गरी सिफारीस समेत गरेका छन् ।

यस्तै सरकारले बजेटमा पर्वतमा कागती पकेट कार्यक्रम सञ्चालन गरिने कार्यक्रम समेटेको छ । जिल्लाका सबै स्थानमा कागती खेतीको लागि हावापानी अनुकुल छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा पर्वतमा कागतीखेती विस्तार गर्न बजेटको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

पर्वतमा व्यवासायीक रुपमा कागती खेती विस्तार हुन नसकिरहेको बेला सरकारले प्राथमिकता दिएपछि किसानहरु खुशी भएका छन् । सरकारले बजेटमा समेटेका कार्यक्रम कार्यान्वयन भएमा स्थानीय किसानहरुले फाईदा लिनेछन् ।

सरकारले पञ्चासेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ । मध्यपहाडी लोकमार्गको नयाँपुल बाट हेम्जा सम्म सुरुङमार्ग निर्माण गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी बजेटमा पर्वत लगायत धौलागिरिका चार जिल्लाका लागि नयाँ र ठूलो परियोजना समेटेको छ । मूख्य गरी धौलागिरिलाई प्रदेश राजधानी पोखरासँग जोड्ने सडकलाई छोटो बनाउनका लागि कास्कीको हेम्जा देखि कास्की र पर्वत सिमानामा पर्ने नयाँपुलसम्म सुरुङ मार्ग निर्माण गर्न प्रस्ताव गरिएको छ ।

यो खण्डमा सुरुङ मार्ग निर्माण भएपछि पोखरा देखि पर्वतको कुश्मासम्मको सडकको दुरी निकै छोटो हुनेछ । पूर्वसम्भाव्यता अध्ययनले सम्भव देखाएको यो क्षेत्रमा सुरुङ मार्ग निर्माणको लागि सरकारले सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको अर्थ मन्त्री विष्णु पौडेलले बक्तब्यमा उल्लेख गरेका छन् ।