Print

पर्वतमा खाद्यन्न आयातमा प्रतिबन्ध : मूल्य बृद्धिको मारमा नागरिक

१५ जेठ, पर्वत । कोरोना संक्रमणको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लामा भित्र प्रवेश गर्ने खाद्यन्नका सवारी साधनहरुमा पनि प्रतिबन्ध लगाएको छ । नागरिकले संविधान प्रद्रत्त खाद्य अधिकारलाई समेत कुंठित गर्दै स्थानीय प्रशासनले खाद्यन्नको आयातमा प्रतिबन्ध लगाएसंगै बजारमा भने खाद्यन्नको मूल्य बृद्धि गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड रोग नियन्त्रण सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा प्रशासन कार्यालयले यस्तो प्रतिबन्ध लगाएको हो । निषेधाज्ञा शुरु भए देखि नै खाद्य वस्तुहरुमा चरम मूल्य बृद्धि गरेका ब्यवसायीहरुकै अनुरोधमा यस्तो निर्णय भएको बताईन्छ ।

ब्यवसायीले ३ महिना पुग्ने खाद्यन्न स्टोरमा छ भन्ने रिर्पोटिङ गरेकाले आफूले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले जानकारी दिईन । पाण्डेले सर्वपक्षिय सहमतिका आधारमा यस्तो कठोर निर्णय लिएको बताईरहँदा बजारमा भने खाद्यन्न सामाग्रीहरुमा मृल्य बृद्धि गरिएको छ ।

सामान्यरुपमा आयातमा समस्या हुँदा त मूल्य बृद्धि हुने बजारमा अहिले पूर्ण रुपमा आयात प्रतिबन्ध लगाएर जनताको ढाड सेक्ने काम स्थानीय प्रशासनले गरेको नागरिकहरुको गुनासो छ । निषेधाज्ञा कडाइका साथ पालना भइरहेको बजार क्षेत्रमा ब्यवसायीको उत्साहटमा गरिएको निर्णयले भने आम नगारिक मर्कामा परेका छन् ।
प्रहरी कार्यालयका भान्सामा काम गर्ने कर्मचारीमा संक्रमण देखियो भनेर तरकारी समेत आयातमा प्रतिबन्ध लगाइएको छ ।

स्थानीय अधिकारी पाण्डे भन्छिन्–‘यो प्रतिबन्ध १ हप्ताका लागि हो, नागरिकको हितमा नभएर फेरी फिर्ता गछौ ।’ पर्वत उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले ३ महिना पुग्ने खाद्यन्न स्टोरमा रहेको होलसेल ब्यवसायीको भनाईका आधारमा यो निर्णय गरिएको बताउँछन् । उनले मूल्य बृद्धि गर्न कोहि ब्यवसायीलाई पनि छुट नभएको भन्दै त्यस्तो जानकारी आए ब्यवसायीलाई कानून बमोजीम कारबाही हुने चेतनावी दिए ।

स्थानीय अधिकारीहरुले पनि मूल्य बृद्धि गर्ने ब्यवसायीलाई कारबाही गर्ने दावी गरेका छन् । उता, ब्यवसायीहरुले भने चरम मूल्य बृद्धि गरेको ग्राहकहरुको भनाई छ । सामाजिक सञ्जालहरुमा यस विषयमा टिकाटिप्पणी शुरु भएको छ । खाद्यन्न पसलहरु दिनमा २ घण्टा खुल्ने गरेका छन् । तर कतिपय खाद्यवस्तुहरुको भने मूल्य बृद्धि भएको बताईन्छ ।