Print

पर्वत अस्पतालमा कोरोनाको प्राथमिक उपचार मात्रै : आइसियू र भेन्टिलेटर चलाउने जनशक्ति नै छैनन्

१६ वैशाख, पर्वत । कोभिड १९ को नयाँ रुप कोभिड भेरिएन्डको दोस्रो लहर शुरु भइसकेको छ । देश भरका अस्पतालहरुमा विरामीको संख्या ह्वातै बढेको छ । संक्रमण बढ्दै जाने खतरा भए पछि देश भर लकडाउनका आंशिक घोषणाहरु हुन थालेका छन् । राजधानी काठमाण्डौंमा आजै देखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । बढिजसो देशको तराई क्षेत्रका अस्पतालहरुमा विरामीको चाप थेप्न नसक्ने अवस्थामा पुगेको छ । यो दर पहाडी क्षेत्रमा पनि विस्तारै बढ्ने क्रममा छ ।

एता, पर्वत जिल्लामा गत बर्ष देखि कोभिडका विरामीको उपचारका लागि तयार गर्ने भनिएका अत्यावश्यक उपकरण र जनशक्ति अझैसम्म पनि परिचालित हुन सकिरहेका छैनन् । जिल्लामा ठूलो सरकारी अस्पतालको रुपमा रहेको पर्वत अस्पताल यति बेला कोरोना विरामीको प्राथमिक उपचार केन्द्र मात्र बन्ने भएको छ । अस्पतालका निमिक्त प्रमुख डा. ढुण्डिराज पौडेलका अनुसार अहिले अस्पतालमा न आइसियू सञ्चालनमा छ न भेन्टिलेटर नै ।

आइसियूमा खटिने र भेन्टिलेटर चलाउने दक्षजनशक्ति नहुँदा यी सेवाहरु सञ्चालन हुन सकेका छैनन् । अस्पतालमा ५ शैयाको आइसियू र ३ शैयाको भेन्टिलेटर राख्ने गरी उपकरणहरु खरिद गरे पनि सेवा सञ्चालन हुन सक्ने अवस्थामा छैन् । कोरोनाका विरामीमध्ये सामान्य अक्सिजन दिनपर्नेलाई बाहेक जटिल अवस्था भएका विरामीलाई सिधै रिफर भइरहेको छ । अस्पतालका निमिक्त प्रमुख डा. पौडेलका अनुसार हालसम्म अस्पतालकै एक स्वास्थ्यकर्मी र अर्का एक ब्यक्ति गरी २ जनालाई अस्पतालले रिफर गरीसकेको छ । बाँकी अस्पतालको सम्पर्कमा आएका ८ जना संक्रमीतहरु होम आइसोलेसनमा बसेका छन् । उनीहरुको अवस्था जटिल बन्दा अस्पतालले उपचार गर्न नसक्ने अस्पताल प्रमुखको भनाई छ ।

अस्पतालमा उपकरण र ठूला भौतिक संरचना बनेपनि दक्ष जनशक्तिको अभाव हुँदा अस्पताल सेवा दिन सक्ने अवस्थामा छैन् । अहिले १० शैयाको सामान्य उपचार कक्ष भने निर्माण गरिएको छ । अवस्था सामान्य भएका तर अक्सिजन दिनपर्ने विरामीलाई अक्सिजनको सेवा भने अस्पतालले दिनसक्ने निमिक्त डा. पौडेलले जानकारी दिए । गत बर्षको जस्तै आइसोलेसन कक्षहरु भने अहिले अस्पतालमा छैनन् ।

आइसोलेसन कक्ष निर्माणको जिम्मेवारी भने स्थानीय पालिकाहरुको रहेको छ । उपचारका लागि अस्पतालमा आउनेहरुको उपचारको ब्यवस्था गर्नुपर्ने अस्पताल पनि अहिले रिफर सेन्टर मात्रै बनिरहेको छ । जनशक्ति ब्यवस्थापनका लागि प्रदेश सरकारसंग माग गरिएको डा. पौडेल बताउँछन् । हालसम्म भने प्रदेशले जनशक्ति खटाउने कार्य गरीरहेको छैन् ।