१ चैत, पर्वत । आगामी चैत ७ गते हुने पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा उमेदवारी घोषणा गर्ने क्रम बढेर गएको छ । दुई समूहमा विभाजीत भएका ब्यवसायीहरु मध्ये गोपी अधिकारी नेतृत्वको समूहले आज एक औपचारिक कार्यक्रम आयोजना गरी उमेदवारी घोषणा गरेको छ । वर्तमान समितिका बरिष्ठ उपाध्यक्ष समेत रहेका अधिकारी यस अघिको कार्यकालमा पनि बरिष्ठ उपाध्यक्ष हुन् ।
दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष बनेका अधिकारीको नेतृत्वमा बाम गठबन्धनले उमेदवारी घोषणा गरेको हो । अधिकारीको नेतृत्वमा अन्य २२ जना सदस्यले उमेदवारीको घोषणा गरेका छन् । उमेदवारी दर्ता आगामी चैत ३ गते हुने पर्वत उद्योग बाणिज्य संघले जनाएको छ ।
सदस्य पदमा उमेदवार घोषणा गर्नेहरुमा महिला सदस्य माया गिरी र अम्विका कुमारी शर्मा छन् । गिरी महिला उद्यमी समितिकी सभापति र शर्मा महिला उद्यमी समितिकी सचिव समेत हुन् । यसैगरी वर्तमान कमिटिका उपाध्यक्ष ठाकुर वि. पौडेल तथा कमलबहादुर जि.सी. र महासचिव गणेश लामिछानेले समेत उमेदवारी घोषणा गरेका छन् ।
वर्तमान समितिका कोषाध्यक्ष रमेश शर्मा लामिछाने तथा कार्य समिति सदस्य राजन गुरुङ्गले पनि उमेदवारी दिने भएका छन् । यसैगरी वर्तमान कार्य समितिका सदस्यहरु कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारीले पनि उमेदारी दिने घोषणा गरेका छन् । वर्तमान कार्य समितिका आमन्त्रित सदस्यहरु प्रदीप तिमिल्सीना र दुर्गाप्रसाद शर्मा सरोजले पनि उमेदवारीको घोषणा गरेका छन् ।
कृष्णप्रसाद श्रेष्ठ पूर्व कार्य समिति सदस्य हुन् । श्रेष्ठले यस पटक उमेदवारी घोषणा गरेका छन् । आसन्न निर्वाचनमा नयाँ अनुहारको रुपमा रमेश पौडेल, ज्ञानेन्द्रकुमार जोशी, विश्वराज श्रेष्ठ ,थानेश्वर पौडेल, कमल लामिछाने, केदार के.सी.र गणेशकुमार श्रेष्ठले उमेदवारी घोषणा गरेका छन् ।
अधिकारीको यो प्यानललाई साझा र समावेशी समूह भनिएको छ । यो समुहमा कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रको समर्थन रहेको छ । वर्तमान कार्य समितिका अनुभवि र पाका अनुहार निर्वाचनमा जाने तयारी गरेका कारण निर्वाचन आफूहरुको पक्षमा पर्ने अध्यक्ष पदका प्रत्यासी अधिकारीले दावी गरे । उनीहरुले २४ बुँदे प्रतिबद्धता पत्र समेत तयार गरेका छन् । ब्यवसायीहरुको हक हित र अधिकार स्थापी गर्ने कुरामा आफूहरुले पुरा सहयोग गर्ने उनीहरुको प्रतिबद्धता छ ।
यस अघि संघका पूर्व उपाध्यक्ष शिव शर्मा पौडेलको नेतृत्वमा अर्को समूहले पनि उमेदवारी घोषणा गरीसकेको छ । ब्यवसायीहरुको निर्वाचनको निर्वाचन तालिका अनुसार आज मतदाता नामावली प्रकाशन भएको छ । आगामी चैत ३ गते उमेदवारी दर्ता र चैत ७ गते गते कुश्मा बजारमा मतदान हुनेछ ।




