Print

देशले विकासको गति लियो भनेर सरकार असफल बनाउन लागियो : पूर्व सांसद गिरी

२६ माघ, पर्वत । विघटिन प्रतिनिधि सभाका सदस्य पदम गिरीले देशका भौतिक पूर्वाधारका विकास उत्कर्षमा पुगेको बेलामा सरकारलाई असफल बनाउन पाटी भित्रबाट प्रयास भएको खुलासा गरेका छन् । रतीखोला तथा आम्बोट खोला मोटरेवल पुलको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद गिरीले विगत ३० बर्षमा नभएको विकास २ बर्षमा भएको दावी गरे ।

उनले यहि विकासको गतिलाई देखेर नेकपा भित्रका केहि नेताहरुले सरकारलाई असफल बनाउन अनेकन प्रयास गरेको उल्लेख गरे ।
उनले देशलाई सडक मार्ग देखि सुरुङ मार्ग हुँदै रेलमार्गमा लैजाने सफल र ऐतिहासिक केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउने खेल खेलिनु दुःखत रहेको जिकिर गरे । उनले सरकार असफल बनाएर अस्थिरता ल्याउने गरी खेल खेलिएका कारण बाध्य भएर प्रधानमन्त्रीले जनतामै जाने गरी प्रतिनिधि सभा विघटन गरेको समेत बताए ।

सांसद गिरीले आफू निर्वाचित भएर ५ बर्ष नै जनताको सेवा गर्ने चाहना भए पनि देशलाई अस्थिरता तर्फ लैजाने खेलका कारण आफू ३ बर्ष मै जनताको वीचमा जानुपरेको बताए । उनले आफू निर्वाचित भएको ३ बर्ष मा पर्वतमा देखिने गरी उल्लेख्य परिर्वतनहरु भएको समेत स्मरण गराए । निर्वाचनमा घोषणा गरेको सडक सञ्जालको विस्तार र कालोपत्रेको काम देश भरकै उदाहरणीय काम भएको उनको भनाई थियो । उत्तर दक्षिणसम्मको मुख्य सडक कालोपत्रेको अभियान अन्तर्गत नै रती खोला मोटरेवल पुलको उद्घाटन भएको गिरीको भनाई थियो ।

गिरीले पर्वतबासीका सवै सुखदुःखमा साथ दिन आफू तयार रहेको भन्दै आफू जनप्रतिधिको हैसियतमा रहँदा या नरहँदा जिल्लाको विकासमा सधै लागि पर्ने बताए । उनले आगँनमा धारा, पहरामा सडक र खोलामा पुल बनाएर छोटो अवधिमा आफ्नो कार्यकाय जिल्लाबासीको लागि ऐतिहासिक रहेको बताए ।