१२ असोज, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारका विद्यालयहरुमा वैकल्पिक शिक्षा सञ्चालनको शुरुवात भएको छ । वैकल्पिक शिक्षा सञ्चालनको प्रमुख विधि अनलाईन कक्षा सञ्चालनको शुरुवात गरेका विद्यालयहरुमा भने विद्यार्थीको उपस्थिती न्यून देखिन्छ ।
सदरमुकामका दुई सरकारी विद्यालयहरु शिवालय मावि र नारायण मावि दुवैले अनलाईन कक्षा सञ्चालनको शुरुवात गरेका छन् । विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेपनि विद्यार्थीको उपस्थिती न्यून हुन थालेपछि शिक्षकहरु कक्षा नै प्रभावित हुँदै गएको नगरशिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री बताउँछन् ।
‘शिक्षकहरुले अनलाईन कक्षाको सञ्चालन गरेपनि विद्यार्थीको उपस्थिती न्यून छ’ शिवालय माविका शिक्षक इन्द शर्मा भन्छन–‘विद्यार्थीलाई अनलाईनमा आउन अनुरोध गरेपनि उनीहरुले वेवास्ता गरेको छन् ।’ वैकल्पिक शिक्षा मार्फत शिक्षणको शुरुवात गरेको शिवालय माविका शिक्षकहरु यति बेला घर दैलो अभियानमा छन् । ‘घरमा जाँदा भने विद्यार्थी भेटिएका छैनन’ शिक्षक आनन्द पौडेल भन्छन –‘खेल मैदान पुगेर भए पनि विद्यार्थीलाई अनलाईन कक्षाको सेडुयल दिने र कक्षामा सहभागी हुन अनुरोध गरेका छौं ।’
शिक्षकहरु विद्यार्थीको खोजीमा उनीहरुको घर, खेल मैदान र साथीहरुको घरमा पुग्ने गरेका छन् । साना कक्षाहरुमा अनलाईन कक्षा सम्भव नभए पनि कक्षा ९ भन्दा माथिका कक्षाहरुमा अनलाईन कक्षा अनिवार्य गर्न शिक्षकहरुलाई निर्देशन दिइएको नगरशिक्षा अधिकृत क्षेत्रीको भनाई छ ।
उता, सदरमुकामका नीजि विद्यालयहरुले पनि अनलाईन कक्षाको शुरुवात गरेका छन् । अनलाईन कक्षा सञ्चालन भए पनि नीजि विद्यालयहरुमा पनि सत् प्रतिशत विद्यार्थीहरु सहभागी भएका छैनन् ।
जिल्लाका अन्य पालिकाहरुमा रहेका विद्यालयहरुमा पनि वैकल्पिक विधि मार्फतको शिक्षण अघि बढाईको छ । बढिजसो ग्रामीण क्षेत्रका केहि विद्यालयहरुले भने विद्यालयमा नै शिक्षण अभ्यासको शुरुवात गरेका छन् । केहि गाउँमा आधारभूत विद्यालयहरुमा भने यस अघि देखि नै शिक्षण अभ्यास गराउँदै आएका छन् । अर्थ वीट साप्ताहिकबाट