१२ असोज, पर्वत । जिल्लाकोे मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ जोड्ने भुरुङ्दी खोलामाथिको निर्माणाधिन पक्कीपुल अलपत्र परेको छ । संघीय सरकारले ५ बर्ष अघि निर्माण कार्यको शुरुवात गरेको मोटरेवल पुलको १० प्रतिशत पनि काम सम्पन्न भएको छैन् । सडक डिभिजन कार्यालयले निर्माण शुरु भएको ५ बर्षमा खोलाको दाँया तर्फ एउटा पिल्लरमात्रै ठडिएको छ । त्यस बाहेक पुलको थप काम हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ सालमै ६ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो भने २०७२ सालदेखि नै निर्माण थालिएको थियो । पुल चालु आर्थिक बर्ष ०७४/०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि १० प्रतिशत भन्दा काम सम्पन्न भएको छैन ।
स्थानीय कमल गुरुङले पुल निर्माणका लागि पटक पटक ताकेदा गर्दा पनि निर्माण ब्यवसायीले चासो नदेखाएका कारण पुलको अवस्था विजोग अवस्थामा पुगेको बताउँछन् । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख रामेश्वर लम्सालले निर्माण ब्यवसायीले मौखिक रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे पनि निर्माण कम्पनीले काम अघि नबढाएको जानकारी दिए । ‘पटक पटक ताकेता गरयौ’ उनले भने–‘काम अघि बढाउने कुरामा निर्माण ब्यवसायी गम्भिर देखिएन’ पटक पटक म्याद थप गर्दा समेत पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।
प्रतिनिधि सभाका सांसद पदम गिरीले निर्माण कम्पनीका प्रतितिधि राजेन्द्र भण्डारीलाई पुल निर्माण स्थलमा नै निर्माण कार्य तत्काल शुरु गर्ने भनी लिखित कागज समेत बनाएका थिए । गिरी भन्छन– ‘प्रतिबद्धता अनुसारको काम अघि बढने गरी निर्माण कम्पनी गम्भिर नबन्दा स्थानीयले दुःख पाएका छन् ।’ खोलामा पुल नहुँदा बर्षायाममा सवारी आगमन पूर्ण रुपमा बन्द हुन्छ । यात्रामा स्थानीयले वेहोरेको सास्तीका कारण सवै पक्ष गम्भिर भए पनि निर्माण पक्ष गम्भिर नभएको सांसद गिरीको आरोप छ ।
उनले आफूले समेत पटक पटक निर्माण कार्य अघि बढाउन ताकेता गरे पनि काम शुरु नसकेको भन्दै दुःख ब्यक्त गरे । कार्यालय प्रमुख लम्सालले भने–‘निर्माणको सम्झौता अवधि २ बर्ष हो, तर ५ बर्षमा पनि पुल सकिएन ।’ निर्माण ब्यवसायीका प्रतिनिधि भण्डारीलाई काममा र्फकन चिट्ठि फोन धेरै लेखियो, ताकेता गरिरँदा पनि उनले हेलचेक्राइ गरेको लम्सालको आरोप छ ।
पटक पटकको म्याद थपमा पनि निमार्णको काममा नर्फर्केपछी ठेक्का तोड्ने सम्मको कुरालाई अगाडि बढाएको लम्सालले जा नकारी दिए । पछिल्लो पल्ट सरकारले पहिलेदेखि निमार्णको क्रममा अलपत्र बनेका बिकास निमार्णका कामहरुलाई एक बर्ष म्याद थप गरेको छ’ लम्सालले भने’–‘आगामी पुष महिना सम्म काम शुरु नगरे ठेक्का सम्झौता रद्द गछौ ।’
स्थानीय तहको गठन अघि नै निर्माण शुरु भएको पक्कि पुलको निर्माण सम्पन्न अहिलेसम्म नहुँदा स्थानीयबासीले निकै ठूलो हैरानी बेहोर्न बाध्य भएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल बताउँछन् । उनले स्थानीय तह, संघीय सांसद र सम्बन्धित कार्यालयको निर्देशनलाई निर्माण ब्यवसायीले पटक पटक अटेर गरेका कारण यस्तो समस्याको सृजना भएको बताए । अर्थ वीट साप्ताहिकमा खबर छ