Print

पर्वत बहुमुखी क्याम्पसमा नयाँ भवनको सांसद गिरीद्धारा शिल्यान्यास

२८ भदौ, पर्वत । जिल्लाकै सवैभन्दा पुरानो पर्वत बहुमुखी क्याम्पसमा निर्माण हुने नयाँ भवनको प्रतिनिधि सभाका सांसद पदम गिरीले शिल्यान्यास गरेका छन् । जिल्लाको फलेवास नगरपालिका वडा न ६ देविस्थानमा निर्माण हुन लागेको नयाँ भवनको सांसद गिरीले एक कार्यक्रमका वीच शिल्यान्यास गरेका हुन् ।

पर्वत बहुमुखी क्याम्पस जिल्लाकै सवैभन्दा पुरानो क्याम्पस हो । २०४१ सालमा स्थापना भएको क्याम्पसमा निर्माण हुन लागेको नयाँ भवनको शिल्यान्यास गर्दै सांसद गिरीले शैक्षिक गुणस्तर बृद्धिका लागि भौतिक संरचना पनि पहिलो आवश्यकता रहेको उल्लेख गरे ।

कोरोना संक्रमणका कारण शैक्षिक शत्र सञ्चालनमा समस्या पर्दै आइरहेको सन्दर्भमा वैकल्पिक विधि मार्फत भएपनि अध्यापनलाई निरन्तरता दिनुपर्ने सांसद गिरीको धारणा थियो । शिल्यान्यास कार्यक्रममा बोल्दै सांसद गिरीले जिल्लाका सवै शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार सुधारका लागि संघ र प्रदेश सरकार मार्फत निरन्तर प्रयास र पहल भइरहेको समेत जानकारी गराए ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले उच्च शिक्षा नगरपालिकाको कार्य क्षेत्र भित्र नपर्ने भएपनि शैक्षिक क्षेत्रको विकास र विस्तारका लागि नगरपालिकाले योजनाबद्ध विकास निर्माण कार्यलाई ध्यान दिएको बताए । नगर क्षेत्रका शैक्षिक संस्थाहरुको संस्थागत विकास र शैक्षिक गुणस्तर सुधारका लागि योजनाबद्ध तरिकाले काम भइरहेको उनले बताए ।

झण्डै ५० लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनको लागि संघीय सरकारले अनुदान उपलब्ध गराउनेछ । भवन शिल्यान्यास कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका सदस्य भवानीप्रसाद श्रेष्ठले गरेका थिए भने कार्यक्रमको स्वागत क्याम्पस प्रमुख खिलप्रसाद शर्माले गरेका थिए । अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर