२८ भदौ, पर्वत । राष्ट्रिय लोकमार्गको रुपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणकै चरणमा रहेको छ । नयाँ खण्ड निर्माण गर्ने र पुरानो खण्डलाई स्तरोउन्नती गर्ने गरी सडकमा काम भइरहेको छे । सडक निर्माणको चरणमा रहेको पर्वत खण्डको काम भने यतिबेला अस्तब्यस्त बनेको छ । साविक धौलागिरी अञ्चलका ४ वटा जिल्ला भित्रने मु्ख्य नाकाको रुपमा रहेको पर्वत खण्डको निर्माण कार्य मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय र निर्माण कम्पनी लामा कन्ट्रक्सनको लापरवाहीका कारण अस्तब्यस्त बनेको हो । सडक निर्माण कार्यको शुरुवात भएको २ बर्ष पुग्न लाग्दा पनि सडक निर्माण कार्य अझै सकिएको छैन ।
सडकका पर्वत खण्डको २३ किलोमिटर खण्डको निर्माण गर्ने जिम्मा लिएको लामा कन्ट्रक्सनले निर्माण कार्य वीच मै अलपत्र पारेको छ । लक डाउन र कोरोनाका कारण देखाउँदै निर्माण कार्य बन्द भएको यो सडकको निर्माण कार्य अझै शुचारु हुन सकेको छैन । लक डाउनकै वीच जिल्लाका कतिपय आयोजनाहरुको काम शुरुवात भइरहेको बेलामा मध्यपहाडी लोकमार्गको काम भने शुरुवात हुन नसकेको हो ।
यस अघि पनि पटक पटक निर्माण कार्य अलपत्र पारेको निर्माण कम्पनीले अहिले पनि निर्माण कार्य शुरु गरेको छैन । आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले समेत पटक पटक जिम्मेवारीबाट उम्कन खोज्ने गरेका छन् भने निर्माण कम्पनीका प्रतिनिधि गोविन्द भुषाल लामो समय देखि सम्पर्क विहिन बनेका छन् । सडक निर्माण कार्य वीच मै अलपत्र पारेपछि सडकमा परेका खाल्डाखुल्डीका कारण यात्रा निकै कष्टकर हुने गरेको छ । सडकको वीच भागमा सयौ खाल्डाहरु परेका छन् । सडकको वीच भागमै पानी जम्मा भएको छ ।
सडक खण्डका ३ वटा मोटरेपुलहरुमा पानी जम्मा हुने र भत्किने क्रमः शुरुवात भएका कारण ति पुलहरु भत्कने अवस्थामा पुगेका छन् । यस्तो चरम लापरवाह गरेर काम छोेडेको निर्माण कम्पनीलाई सम्पर्क गरी काम शुरुवात गर्न पटक पटक अनुरोध गरीएको पर्वतका सांसद पदम गिरीको भनाई छ । उनले कन्ट्रक्सनका प्रमुख समेत रहेका जीप छिरिङ लामासंग पटक पटक टेलिफोन सम्बाद गरी निर्माण कार्य अघि बढाउन अनुरोध गरेको बताउँछन् । लामाले भने यसको जिम्मेवारी लिएको प्रतिनिधि भुषालले काम अघि बढाउनुपर्ने बताएको गिरीको भनाई छ ।
उता, भुषाल भने जनसम्पर्कमा नै छैनन् । आयोजनाका मेसिनहरु समेत स्टोरमा थन्किएका छन् । सामान्य खाल्डा समेत नपुर्दा सडक खण्ड ग्रामीण सडक जस्तो बनेको छ । पटक पटक भाका र म्याद दिएर काम शुरुवात गर्ने प्रतिबद्धता गरेको कम्पनीले काम शुरुवात नगर्दा सवै क्षेत्रले सास्ती बेहोर्नु परेको सांसद गिरीले बताए ।
काम शुरुवात गर्न अनुरोध गर्न आफू निर्माण कम्पनीको साइड अपिसमा समेत जाँदा त्यहाँ पनि निर्माण कम्पनीका जिम्मेवार प्रतिनिधिसंग भेट नभएको सांसद गिरीको भनाई छ । उता, प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले सर्वसाधारणहरुले समेत पटक पटक गुनासो गरेको र सम्बन्धित आयोजनाका प्रमुख र निर्माण पक्षलाई बोलाएर तत्काल सडक मर्मत कार्य अघि बढाउन निर्देशन दिएको बताउँछन् ।
रेग्मीले कोरोना महामारी सँग बर्षा यामको कारण सडकको काम अघि बढाउन नसकिएको सम्बन्धित पक्षले बताएका र कामदार ल्याउने सवालमा स्वास्थ्य चेकजाँच गरेर ल्याउने कुरामा आफु सकरात्मक रहेको कुरा जानकारी गराएको बताए ।
कास्कीको सिमानामा पर्ने नयाँपुलदेखि बागलुङको सिमाना मालढुंगासम्मको करिव २७ किलोमिटर सडक खण्ड पूर्ण रुपमा मर्मत गर्नुपर्ने अवस्थामा रहेको छ ।
सडकको काम शुरुवात गराउन माग गर्दै जिल्लामा क्रियाशिल मानवअधिकार तथा नागरिक संगठनका प्रतिनिधिहरुले समेत ध्यानाकर्षण गराएका छन् । अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर




