१४ भदौ, बागलुङ । कोरोना महामारीको समयमा सामाजिक तथा सार्वजनिक कार्यक्रम, सभा समारोह ठप्प छन् ।
बागलुङ नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले भदौं ३ गते देखि समुदायमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ । तर, बागलुङ नगरपालिका–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउदा समुदायमै कोरोनाले भयावहको रुप लिन सक्ने आशंका गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ ।
न्वारन गर्ने छोरीका बुबा नेपाल सेनाको लमजुङ ब्यारेकमा कार्यरत थिए । छुट्टीमा आएर गाउँले र आफन्तको ठुलै जमघटका बीच न्वारन गर्ने उनैलाई सक्रमण पुष्टी भएपछि गलुवाका ७० जनाको स्वाब संकलन गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
उहाँ ५ गते कोरोना पुष्टी भएका जवान संगै बागलुङ बजारमा एक रात बस्नुभयो र साउन ३१ गते गलुवा जानुभएको थियो । भदौं १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाईयो र खसी काटेरै भोज खुवाइयो । भोजमा पाहुना, आफ्न्त लगायतबाट ७० जना क्लोज कन्ट्याक्टका रुपमा सहभागी भएको पाइयो । छोरीको न्वारन गर्न गलुवा पुगेका २३ वर्षका आर्मीमा ११ गते कोरोना पुष्टी भएसंगै भोजमा सहभागी पण्डित, पाहुँना तथा अतिथि सहित ७० जनाको स्वाब संकलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्ली आचार्यले जानकारी दिनुभयो ।
“कोरोना समुदायमा गइसेकेको अवस्थामा न्वारनमा सचेत व्यक्तिबाटै स्वास्थ्य मापदण्ड नअपनाई भोज गरेको पाइयो” आचार्यले भन्नुभयो “न्वारनमा भोज दिनेमै कोरोना देखिए पछि ७० जनाको स्वाब संकलन गरेका छौं, समाजमा सामान्य सचेतना नअपनाउदा भयावहको अवस्था आउन सक्छ ।” नगरपालिकाले शुक्रबार गलुवा पुगेरै स्वाब संकलन गरेको छ ।
संक्रमितका परिवारमा कोरोनाको लक्षण समेत देखिएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ । स्वाब दिने मध्ये केहीलाई ज्वारो आउने तथा स्वास प्रस्वासमा समस्या हुने र घाँटी दुख्ने जस्ता समस्या देखिन थालेको छ । स्वाब संकलन गरिएको ७० जना मध्ये न्वारान गरिएको २२ दिनको छोरी समेत पर्नुभएको छ ।
नागरिक स्तरबाटै सचेतना नअपनाउने हो भने स्वास्थ्यकर्मीको प्रयासले मात्रै प्रयासले कोरोना नियन्त्रणमा समस्या हुने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । “राज्यले भीडभाड नगर्नु, सामाजिक कार्य गर्दा सर्तकता सहित सामान्य गर्नु भनेकै छ, तर गाउँमा भोज भतेर, पूजा पाठ विवाह उत्सव चलेकै छ” खनालले भन्नुभयो “यस्तो गतिविधि शहरमा रोकिए पनि गाउँमा नरोकिएको पाइएको छ ।”
समुदायका मानिसमा कोरोना सचेतना नअपनाउदा बागलुङ नगरपालिका भित्र तिब्र गतिमा कोरोना फैलिएको छ । नगर भित्रको समुदाय स्तरमा एक दर्जन व्यक्तिलाई कोरोना पुष्टी भइसकेको छ । नगरपालिकाभर भदौं १५ गते सम्म निषेधाज्ञा जारी छ । –सुवास गौतम, बागलुङ




