Print

दुर्लुङ पहिरो : पिडित परिवारलाई अमेरिकामा बस्ने नेपालीहरुद्धारा १० लाख नगद सहयोग

३ साउन, पर्वत । कुश्मा नगरपालिका– ३ दुर्लुङका पहिरो पीडितलाई १० लाख १९ हजार रुपैयाँ वितरण गरिएको छ । पहिरोबाट ज्यान गुमाएका ९ जनाका परिवार र पहिरोबाट घरबारविहिन भएका ६ परिवारलाई पर्वत समाज अमेरिकाको तर्फबाट प्राप्त रकम शनिवार हस्तान्तरण गरिएको हो ।

पहिरोमा परि ज्यान गुमाएका ९ जनालाई जनही ७० हजारको दरमा ६ लाख ३० हजार र घरवारविहिन ६ जना परिवारलाई जनही ६५ हजारको दरमा ३ लाख ६० हजार रुपैयाँ वितरण गरिएको स्थानीय प्रितम गुरुङले जानकारी दिए । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले प्रवासीहरुको तर्फबाट प्राप्त रकम पीडित परिवारलाई वितरण गरे ।

पहिरोले पुर्‍याएको मानवीय क्षती र विस्थापितहरुलाई अमेरिकामा रहेका ९३ जनाले उक्त रकम सहयोग गरि गाउँ सम्म ल्याएका हुन् । रकम वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पीडितहरुलाई परेको समस्यालाई मध्यनजर गर्दै प्रवासी नेपालीहरुले गरेको सहयोग अतुलनिय रहेको बताए । उनले पहिरो पीडितलाई वस्ती स्थानान्तरण गरि सुरक्षित ठाउँमा स्थानन्तरण गर्न राज्यको तर्फबाट आवश्यक पहल भैरहेको बताए।

राहात संकलन देखि वितरणमा देखिएको एक्यबद्धता कायमै राख्नुपर्ने जोशीले बताए । कार्यक्रममा कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्या, पर्वत समाज अमेरिकाका संस्थापक सचिव सञ्जिव श्रेष्ठ, समाजसेवी कुलबहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

दुर्लुङबासीहरुले सामूहिक रुपमा पहिरोमा ज्यान गुमाएका द्रिपा थापा र विवेक थापाको स्मृतिमा स्थापना गरेको अक्षयकोषका संयोजक प्रभु गुरुङले अक्षयकोषमा अहिले सम्म ९ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भैसकेको जानकारी दिए । उनले संस्थापक सदस्य दुई सय जना पुराउने चरणमा रहेको बताए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस दुर्लुङका सचिव होमवहादुर थापाले गरेका थिए ।