Print

कुश्माको कटुवाचौपारीमा श्रीमती र छोराले बाउलाई बन्चराे हानेपछि…

३ साउन, पर्वत । कुस्मा नगरपालिका ९ कटुवाचौपारीकोमा श्रीमती र छोराको बन्चरो प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।  कटुवाचौपारीका वडाध्यक्ष कृष्णप्रसाद लामिछानेका अनुसार अन्दाजी ५५/६० वर्षीय विष्णु सुनारकी श्रीमती बिजुला र उनका अन्दाजी १४/१५ वर्षीय छोरा सचिन सुनारले बन्चरो प्रहार गर्दा विष्णु गम्भीर घाइते भएका हुन्।

‘विष्णुका बुबा छविलालले बुहारी र नाति मिलेर मेरो छोरो मारे लौन बचाउन पर्‍याे भन्दै साइकलचोक बजारमा आएर गुहार मागेपछि  हामी तत्कालै घटनास्थलमा पुगेका थियौँ,’ उनले भने, ‘घाइते विष्णुलाई श्रीमती र छोराले बन्चरोले हानेको रहेछन्।

घाइते भएको ठाउँमा रक्ताम्य छ। तत्कालै २ जना प्रहरी आएपछि एम्बुलेन्समा हालेर उपचारका लागि सदरमुकाम पठाएका छौँ।’  वडाध्यक्ष लामिछानेका अनुसार विष्णुमाथि आक्रमण गरेकी श्रीमती बिजुला र छोरा पनि सामान्य घाइते भएका कारण घटनामा संलग्न तीनै जना घाइतेलाई एउटै एम्बुलेन्समा राखेर पर्वत अस्पतालमा लगिएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार घाइते विष्णु अहिले सामान्य बोल्ने अवस्थामा छन् भने घटनामा संलग्न बिजुली र सचिनको अवस्था सामान्य रहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले घटनामा संलग्न ३ जना नै अस्पतालमा भर्ना भएको र अहिले उनीहरूको उपचारको काम भइरहेकोले घटना किन र कसरी भयो भन्नेबारे केही पनि नखुलेको बताए। – सञ्जय रेग्मी