२ साउन, पर्वत । असार लागेसँगै सुरु भएको उनीहरुको यस्तो दैनिकी असोज अन्तिम सातासम्म चल्छ । हिउँदमा यसरी बालुवा निकाल्न पाइँदैन । स्थानीय तहले ठेक्का लगाएपछि क्रसर सञ्चालक तथा ठेकेदारहरुले एक्स्काभेटर र टिपर लगाएर बालुवा निकाल्छन् । यो समयमा स्थानीय तहले ठेक्का लगाउँदैनन् । ठेक्का लिएकाहरुले जेठसम्म निकालेको गिट्टी बालुवा बिक्री गर्छन् । नदीको सतहले जति ठूलो आकार लिन्छ मालढुङ्गाका माझी बस्तीका युवायुवती उति धेरै नदी किनारमा जम्मा हुन्छन् । ‘यसरी मौका नछोपे कसैको घरमा चुलो बल्दैन,’ झकबहादुर माझीले भने, ‘ठूलो बाढी आएको बेला दाउरा छोप्छौं । काली धमिलिएर ठूलो हुँदा दाउरा आउँछन् । अरुबेला बालुवा निकालेर बेच्ने हो ।’
यसरी बालुवा निकाल्न माझी बस्तीका अगुवाहरुले नदी किनार भाडामा लिन्छन् । एक सिजनको ५० हजार । यो वर्ष स्थानीय प्रमिला भण्डारीले ठेक्कामा लिएकी छन् । कुश्माकै एक व्यक्तिसँग ठेक्का लिएकी उनले माझीहरुले बालुवा निकाले बापत प्रतिट्याक्टर पाँच सय रुपैयाँका दरले महसुल लिन्छिन् । ‘उनीहरुले जतिसुकैमा बेचुन्,’ भण्डारीले भनिन्, ‘मैले ३ वर्षदेखि पाँच सय बढाएको छैन । कहिलेकाहीँ म आफैले पनि काम गर्छु ।’ यसरी निकालेको बालुवा लिन ठेकेदारहरु ट्याक्टर लिएर नदी किनारमै पुग्छन् । उनीहरुले प्रति ट्याक्टर १७ सयदेखि दुई हजारमा खरिद गर्छन् । बजारमा ५ देखि ६ हजारमा बिक्री गर्ने उनीहरुले ज्यानको बाजी थापेर निकाल्ने मजदुरले भन्दा दुई गुणा बढी कमाउँछन् । ‘यस्तो श्रममा पनि बिचौलियाले छोड्दैनन्,’ स्थानीय चन्द्रकुमारी माझीले गुनासो गरिन्, ‘हामीले दुःख गर्नुमात्रै हो ।’
अभिभावकसँगै नदी किनारमै भेटिने बालबालिकामध्ये सक्नेले ट्याक्टरमा बालुवा उठाउँछन् । ससाना बालबालिकाहरु भने बालुवामै खेलिरहेको भेटिन्छ ।कुश्मा नगरपालिका–१ मा पर्ने यो माझी बस्तीमा करिब डेढ सय घरपरिवार रहेको अनुमान छ । त्यसमध्ये सयभन्दा धेरै परिवार सुकम्बासी हुन् । चार वर्षअघि सुकुम्बासी समस्या समाधान आयोगको पर्वत कार्यालयले गरेको सर्वेक्षणमा यहाँका १०५ परिवार सुकुम्बासी थिए । अहिले उक्त संख्या घटेबढेको कतै तथ्यांक छैन । पोखरा–बाग्लुङ ९अहिलेको मध्यपहाडी लोकमार्ग० सडक निर्माणका क्रममा ०४८ सालतिर धादिङ, गोर्खा, तनहुँ, लमजुङ लगायतबाट आएका मजदुरहरु यहीँ छाप्रा बनाएर बसेका हुन् । तर, उनीहरुसँग अहिलेसम्म न घरको लालपुर्जा छ । न त गासबासको ठेगान । राजमार्गको काम गर्दै यहाँसम्म आइपुगेपछि स्थायी बसोबास गरेकाहरु सडकको काम सकिएपछि बेरोजगारजस्तै बने ।
नियमित आम्दानीको स्रोत नभएपछि नजिकैको कालीगण्डकी किनारमा बालुवा निकाल्ने र गिट्टी कुटेर गुजारा चलाउनुको विकल्प नभएको उनीहरु बताउँछन् । वर्षाका बेला कालीको भेलले बगाउने बालुवा किनारमा थुपारेर बिक्री गर्ने मुख्य पेसा हो । त्यसबाहेक हिउँदका महिनामा गिट्टी कुटेर बिक्री गर्छन् । विगतका वर्षमा विद्यालय बिदा हुँदा मात्रै बालुवा निकाल्ने किशोरकिशोरीलाई अहिलेको लकडाउनले अवसर मिलेको छ । ‘पहिला स्कुल बिदा हुँदामात्रै यसरी काम गर्थ्यौं,’ अञ्जुले भनिन्, ‘अहिले दिनदिनै काम गर्न पाइएको छ ।’ बिहानदेखि साँझसम्म २ जनाले एक ट्याक्टर बालुवा निकाल्दा सबै खर्च कटाएर ५०० देखि ६०० रुपैयाँ कमाइ हुने उनले बताइन् । यसरी भएको आम्दानीबाट घर खर्च चलाएर बचेको पैसाले विद्यालयका लागि पोसाक, कापीकलम र किताब किन्न खर्च गर्ने उनले बताइन् ।
पर्वतबाट कान्तिपुरकर्मी अगन्धर तिवारीले तयार गरेको सामाग्री साभार



