Print

पूर्व सांसद जोशीद्धारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हस्तान्तरण

३० असार, पर्वत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य पूर्व सांसद अर्जुनप्रसाद जोशीले जिल्लामा कोरोनाको उच्च जोखिमलाई कम गर्न र क्वारेन्टिन र आइसोलेसनमा रहेका व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमताको विकास विकास गर्न पर्वतमा नयाँ औषधि वितरण गरेका छन्।

मारवाडी सेवा समाज काठमाडौको सहयोगमा नेता जोशीले सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई उक्त औषधि हस्तान्तरण गरेका हुन् । उक्त औषधि सातसय भन्दा बढि व्यक्तिले सेवन गर्न सक्ने छन् ।

औषधि हस्तान्तरण पछि बोल्दै नेता जोशीले कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने दायित्व र जिम्मेवारी सबैको भएकोले शुरूदेखि नै आफूले यो अभियानमा रचनात्मक सुझाव सहित सहयोग गर्दै आएको वताए । ‘हरेक महामारी र विपत्ति जिल्लाबासीका साझा समस्या हुन्, यी समस्याविरूद्ध हामी सबैको साझा दृष्टिकोण र प्रतिबद्धता चाहिन्छ ।’– नेता जोशीले भने। उनले कोरोनाको नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले बनाउने हरेक रणनीतिक योजनामा आफ्नो पुरै सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

नेता जोशीले क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिहरुको मनोबल बढ्ने तरिकाले सेवा गर्न र उनीहरुको भोजनमा समेत ध्यान दिन समितिलाई आग्रह गरे । । साथै उनले देशमा हाल बर्षे मनसुन शुरु भइसकेको र प्रयाप्त बर्षा समेत चलिरहेकोले जिल्लाका संभावित जोखिम बस्तीहरुको पहिचान गरि उच्च सतर्कता अपनाउन र आवस्यक तयारी गर्न समेत प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाको सुरक्षा र विपद् व्यवस्थापन समितिलाई आग्रह गरे ।

नेता जोशीले कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्लामा गठित सिसीएमसीले खेलेको भूमिकाको प्रशंसा गर्दै काँग्रेस केन्द्रीय समितिको तर्फबाट सबैलाई आभार व्यक्त गरे । काँग्रेस नेता जोशीले यसअघि पनि विभिन्न मितिमा कोरोना विरुद्धका स्वास्थ्य सामग्री कोरोना नियन्त्रण समन्वय समितिलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले संकटको घडीमा धेरै चासो र चिन्ताका साथ कोरोना विरूद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुहुने संविधानसभा सदस्य जोशीप्रति धन्यवाद प्रकट गरेका थिए।