२३ असार पर्वत । पर्वतमा कोरोना संक्रमण स्थानिय स्तरमा पुगे पनि नियन्त्रणमै रहेको दाबी स्वास्थ्यकर्मी गरेका छन् । स्वास्थ्य कार्यालय पर्वतले पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा सरोकारवालासंग कोभिड १९ को नियन्त्रण, उपचार तथा समूदायमा सचेतनाका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियाको क्रममा समुदायमा नपुगेका कारण आत्तिनुपर्ने अबस्था नभएको दाबी गरेका हुन ।
कुश्मा नगरपालिका ३ का दुर्घटनाका घाईते र उनका नजिकका आफन्त, अस्पतालका स्वास्थ्यकर्मी र एक जना मोदीका स्वास्थ्यकर्मी लाई कोरोना संक्रमण देखिएपछि समूदायमा पनि कोरोना संक्रमण पुगेको चर्चा चलिरहेका बेला स्वास्थ्य कार्यालयले भने समूदायमा नभई निश्चित क्षेत्रमा मात्रै संक्रमण पुगेको र नियन्त्रणमै रहेको जनाएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले समूदायमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा समूदायमा नभई संक्रमितका एकदमै नजिकका मानिसहरुमा मात्रै कोरोना पुगेको बताए । उनले अहिले भने क्वारेण्टाईन भित्र मात्रै कोरोना संक्रमण रहेको स्वास्थ्यकर्मीहरुले ठहर गरेकाले समूदायलाई त्रसित नबन सल्लाह दिए । उनले भारत र तेस्रो मुलुकहरुबाट फर्किनेहरुको व्यवस्थापनमा स्थानीय सरकारले अव ठोस योजना बनाउनुपर्ने बताए।
कुश्मामा संक्रमीत स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिए पनि थप समुदायमा संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको भनाई छ । यसैगरी मोदीमा देखिएको संक्रमण पनि समुदायमा नफैलिएको निश्कर्ष निस्केको छ ।
सदरमुकामले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अव स्थानीय तहमा १० बेडको आईसोलेसन बनाउने भनेर आफुहरुले सल्लाह दिएको डा. गौतमले बताए । लक्षण देखिएका र गम्भिर प्रकृतिका विरामीलाई गुप्तेश्वर क्याम्पसको कोरोना विशेष अस्पतालमा राखेर उपचार गर्ने र लक्षण नदिएकाले स्थानीय तहले बनाउने आईसोलेसनमा राख्ने रणनीति अपनाउन थालिएको गौतमको भनाई छ ।




