२ असार, पर्वत । भारतबाट लक डाउनको अवधिमा पर्वतमा कुल ३ सय ९९ जना भित्रिएका छन् । सरकारले लक डाउनको घोषणा गरेर नाका सिल गरेपछि भारतमा अलपत्र परेका उनीहरु लक डाउनकै अवधिमा पर्वतमा भित्रिएका हुन । कोरोना संक्रमणका कारण भारतले पनि लक डाउन घोषणा गरेका कारण उनीहरु भारतमा अलपत्र अवस्थामा थिए । केहिले रोजगारी गुमाएका थिए भने कतिपय नेपाल फर्कने तयारी गर्दा गर्दै लक डाउनको घोषणा भएको थियो । कतिपय नेपालीहरु संक्रमणका कारण आफ्नै देशमा फर्कन चाहन्थे ।
उनीहरुलाई सरकारले झण्डै २ महिना भन्दा बढि समय नाका सिल गरेर भारतमै रोकेको थियो । लक डाउनको अवधि बढ्दै जाँदा उनीहरुलाई नेपाल प्रवेशको पुनः अनुमति दिइएको थियो । नेपाल प्रवेशको अनुमति पाएपछि भारबाट मात्रै ३ सय ९९ जना पर्वतमा भित्रिएको स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकारी प्रविन भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार यो अवधिम यूएइबाट १ जना समेत पर्वतमा भित्रिएका छन् । योसंगै जिल्लामा कुल ४ सय मानिस लक डाउन र संक्रमणको अवधिमा विदेशबाट पर्वतमा भित्रिएका छन् । असार १ गतेसम्मको तथ्यांकमा उनीहरु पर्वतमा भित्रिएको भण्डारीको भनाई छ ।
विदेशबाट आउनेहरुको अनिवार्य कोरोना परिक्षणको ब्यवस्था मिलाइएको छ । उनीहरु सवैलाई पहिले पुलिङ क्वारेन्टाइनमा राखेर परिक्षण पछि मात्रै स्थानीय तहको क्वारेन्टाइनमा पठाइने गरिएको पर्वत अस्तापलका प्रमुख डा. शिशिर देवकोटा बताउँछन । योसंगै पर्वत जिल्लामा हालसम्म कुल ५ सय जनाको स्वाब परिक्षण गरिएको डा. देवकोटाको भनाई छ । लक डाउन पहिलो विदेशबाट आएका र जिल्लाका अन्य संक्रमणको आशंका गरिएकाहरुको पनि परिक्षण गरिएको हो । हालसम्म २६ जनामा पर्वतमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ४२ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
स्वाब संकलन गरिएकाहरुको रिर्पोट आउन समय लाग्ने भएका कारण उनीहरुको क्वारेन्टाइनको बसाई भने लम्बिदै गएको छ । क्वारेन्टाइनमा बसाई लम्बिदा ब्यय भार बढ्नुका साथै बसाई कष्टकर बन्दै गएको छ । परिक्षणका लागि प्रयोगशालामा पठाइएका स्वाबको संख्या धेरै हुँदा प्रयोगशालामा स्वाब परिक्षणको गति निकै सुस्त हुने गरेको छ । अहिले पुलिङ क्वारेन्टाइनमा २ सय ३९ जना मानिसकहरु बसीरहेका छन् । त्यस मध्ये ५५ जना स्थानीय तहका क्वारेन्टाइनमा गएका छन् ।




