१ असार, पर्वत । लक डाउनले एसइसिको परिक्षा रोकिएको थियो । विवेक थापा पर्वतको कुश्मा स्थित आदर्श अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्ययन गर्दथे । पढाईमा जिज्ञासु, लगनशिल र इमानदार विवेक एसईईमा राम्रो अंक ल्याएर कक्षा ११ र १२ मा राम्रो विषयमा अध्ययन गर्ने योजनामा थिए । उच्च अंक ल्याएर परिक्षा पास गर्न पढाईको राप र चापले लक डाउन विताएका उनी जव एसइईको परिक्षा नहुने सुने तब देखि रमाए । कतै घुम्न र डुल्ने रहर जाग्यो । १ महिना गाउँ घर बागलुङको थन्थापमा बसेका थिए ।
एसईइको परिक्षाका लागि तयारी अवस्थामा रहन विद्यालयले निर्देशन दिइरहेको बेलामा परिक्षा नै नहुने भए पछि उनले बोझ भएको महशुस गरे । गाउँमा बस्ने, रमाइलो गर्ने र चिसो मौसममा रमाउने चाहना राखेर उनी आफ्नी आमा दिर्पाले बोलाए पछि मामाघर कुश्मा नगरपालिका ३, दुर्लुङ गएका थिए । मामाघरका भाइ र बहिनीसंग रमाउन पाउँदा उनमा वेग्लै आनन्द आएको हुनुपर्छ ।
कक्षा १० सकेपछि उनी ११ र १२ को अध्ययनका लागि पोखरा जाने योजनामा थिए । बुवाले पनि पोखरामा छोरालाई पढाउने भनेर तयारी गरेका थिए । विदेशबाट कमाएको पैसाले पोखरामा बसाई गर्ने योजनामा थियो उनको परिवार । राम्रो विद्यालयमा उच्च शिक्षा पढाउने बुवाको धोको थियो । छोरो ठुलो मान्छे बनोस् र समाजको उच्च पदमा पुगोस भन्ने चाहना कुन बाबु आमाको हुन्न र ! छोराकै लागि बुवाले विदेशमा दुःख गरी पैसाको जोहो गरेका थिए ।
जेठ ३१ गते राती भिषण पानी पर्दा परिवारका ६ जनासंगै उनी पनि पहिरोमा परेर पुरिए । भोलीपल्ट उनी मृत अवस्थामा भेटिए । पहिरोमा आफ्नी आमासंगै उनले संसार त्यागे । उनले अध्ययन गर्ने विद्यालय परिवार अहिले पुरै शोकमा डुवेको छ ।
प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले लगनशिल र इमानदार विद्यार्थी गुमाउनुपर्दा विद्यालय परिवारलाई निकै पिडा भएको भन्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन् । पढाईमा ध्यान दिने, मिजासिलो र भद्र स्वभावका विवेक १७ बर्षका थिए । साथीहरुसंग मिलेर खेल्ने, रमाइलो गर्ने उनलाई साथीहरुले कक्षा १० को परिक्षासंगै सधैका लागि गुमाएका छन् ।
उनलाई चिन्ने र उनीसंगै खेल्ने साथीहरुको आँखामा उनको तस्विर मेटिएको छैन् । उनीसंगै उनकी आमाको आज नै बागलुङमा लगेर अत्येष्टि गरिएको छ । उनको घर बागलुङको जैमुनी नगरपालिकामा पर्दछ । कुश्मामा बसेर अध्ययन गर्दै आएका उनी मामा घर गएको बेलामा पहिरोमा परेका हुन् । एसईइमा राम्रो अंक ल्याएर उच्च शिक्षा पढने उनको रहर अधुरो रह्यो । परिक्षा विना नै विद्यालयको अंक भारका आधारमा कक्षा ११ र १२ पढ्न पाउँदा उनको मनमा उच्च शिक्षाको अनेक योजना मनमा आएका थिए । अन्ततः सपना सवै विलिन भए । माटोको रास भित्र भित्रै मिसिए आँखाका सपना । वायूसंगै आकाश उडेर नक्षत्रमा पुगे उनका रहरहरु । जिउँदो हुँदा देखेका अनगिन्ती उनका सपना अव केवल वायूमा घुमिरहेका छन् ।




