Print

दुर्लुङ पहिरो : थापा दम्पत्ति एउटै चितामा जले

१ असार, पर्वत । ५३ बर्षका तुलबहादुर थापा र ५२ बर्षकी मिनकुमारी थापा बेलुकीको खाना खाएर आफ्नै घरमा सुत्ने तरखर गर्दै थिए । माइत बस्न आएकी आफ्नी छोरी दिर्पा र उनका छोराका कारण घरमा थप रमाइलो भएको थियो । लक डाउनका कारण विद्यालयमा पढाई नहुँदा घरमा नाति नातिनाले भरिँदा थापा दम्पति मख्ख थिए । थापा दम्पत्तिका छोरा तर्फका नाति र नातिनी पनि संगै घरमा थिए । जेठ ३१ गते राती करिब ८ बजेको समयमा उनीहरु सवैको खुशी लुटियो । एकाएक घर माथिबाट आएको पहिरोमा परी उनीहरुले अन्तिम सास मोटोको थुप्रो भित्र त्यागे ।

पहिरोमा थापा दम्पत्तिसंगै उनकी छोरी दिर्पा र नातिहरु सम्राट, विवेक र नातिनी विविसाको मृत्यु भयो । पहिरोले यत्ति मात्र क्रुरता देखाएन् । थापा परिवारकै छिमेकी कमला विकको परिवारमा पनि बज्रपात आइलाग्यो । कलमासंगै उनकी छोरी प्रमिशा र छोरा जेनिसलाई पनि पुरयो । जेनिस अहिलेसम्म वेपत्ता छन् ।

पहिरोमा परेर पुरिएका उनीहरुको सोमबार अत्येष्टि गरिएको छ । उनिहरु मध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच वटा चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको छ । मृतक मध्ये ५३ वर्षिय तुलबहादुर र उहाँकी श्रीमती ५२ वर्षिय मिनकुमारी थापालाई एउटै चितामा जलाईएको हो भने नाती सम्राट, नातीनी बिबिसा लाई छुट्टाछुट्टै चितामा जलाईएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला बिक र उनकी छोरी ८ वर्षीया प्रमिशा बिकलाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका ६ जनाको एकैपटक दाहसंस्कार गरिएको यो घटनाबाट सिंगो पर्वत नै शोक मग्न भएकोछ ।

संगै जिउने र संगै मर्ने कसम खाएका श्रीमान तुलबहादुर र श्रीमति मिनकुमारी अन्ततः एउटै चितामा जलेर खरानी बने । नाति नातिनाको सुखका भविश्य हेर्ने उनीहरुको सपना माटोको रास भित्र भित्रै दवियो । आफन्तको हेरचाह, छोरा र वुहारीको स्याहार विनानै १ छोरी, १ नातिनी र २ नातिहरुसंग उनीहरु प्र्राण त्यागे ।

विवेकको प्लस टु पढ्ने धोका अधुरै

लक डाउनले एसइसिको परिक्षा रोकिएको थियो । विवेक थापा पर्वतको कुश्मा स्थित अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्ययन गर्दथे । पढाईमा जिज्ञासु, लगनशिल र इमानदार विवेकले एसईईमा राम्रो अंक ल्याएर कक्षा ११ र १२ मा राम्रो विषयमा अध्ययन गर्ने योजनामा थिए । उच्चतम अंक ल्याएर परिक्षा पास गर्न पढाईको राप र चापले लक डाउन विताएका उनी जव एसइईको परिक्षा नहुने सुने तब देखि रमाए । कतै घुम्न र डुल्ने रहर जाग्यो ।

एसईइको परिक्षाका लागि तयारी अवस्थामा रहन विद्यालयले निर्देशन दिइरहेको बेलामा परिक्षा नै नहुने भए पछि उनले बोझ भएको महशुस गरे । गाउँमा बस्ने, रमाइलो गर्ने र चिसो मौसममा रमाउने चाहना राखेर उनी आफ्नी आमा दिर्पासंग मामाघर गएका थिए । मामाघरका भाइ र बहिनीसंग रमाउन पाउँदा उनमा वेग्लै आनन्द आएको हुनुपर्छ । जेठ ३१ गते राती भिषण पानी पर्दा परिवारका ६ जनासंगै उनी पनि पहिरोमा परेर पुरिए ।

भोलीपल्ट उनी मृत अवस्थामा भेटिए । पहिरोमा आफ्नी आमासंगै उनले संसार त्यागे । उनले अध्ययन गर्ने विद्यालय परिवार अहिले पुरै शोकमा डुवेको छ । प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले लगनशिल र इमानदार विद्यार्थी गुमाउनुपर्दा विद्यालय परिवारलाई निकै पिडा भएको भन्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन् । पढाईमा ध्यान दिने, मिजासिलो र भद्र स्वभावका विवेक १७ बर्षका थिए ।

साथीहरुसंग मिलेर खेल्ने, रमाइलो गर्ने उनलाई साथीहरुले कक्षा १० को परिक्षासंगै सधैका लागि गुमाएका छन् । उनलाई चिन्ने र उनीसंगै खेल्ने साथीहरुको आँखामा उनको तस्विर मेटिएको छैन् । उनीसंगै उनकी आमाको आज नै बागलुङमा लगेर अत्येष्टि गरिएको छ । उनको घर बागलुङको जैमुनी नगरपालिकामा पर्दछ । कुश्मामा बसेर अध्ययन गर्दै आएका उनी मामा घर गएको बेलामा पहिरोमा परेका हुन् ।