२१ जेठ, पर्वत । लामो समय पर्वतको दक्षिणी क्षेत्र सदरमुकाम कुश्मा बजार देखि टाडा रह्यो । सडक, विद्युत र स्वास्थ्य क्षेत्रमा परजिल्लाको भर पर्नु परेको दक्षिणी क्षेत्रले क्रमशः लय लिँदैछ । देशमा जनप्रतिनिधिहरु आए संघीयताको विकास भयो, यो संगै दक्षिणी क्षेत्रले जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ । विकास निर्माण र पूर्वाधार क्षेत्रमा असाधरण परिर्वतनहरु हुँदै गएका छन् ।
देशमा अहिले स्थानीय तह, प्रदेश तह र संघका जनप्रतिनिधिहरु छन् । विकास निर्माणका क्रमीक योजनाहरु बनेका छन् । स्थानीय स्तरका समस्याहरु समाधान गर्न स्थानीय सरकारले काम गरीरहेका छन् । मझौला आयोजनाहरुमा प्रदेश सरकारले सहयोग गरीरहेको छ । ठूला र राष्ट्रिय आयोजनाहरुमा संघीय सरकारले सहयोग पुराएको छ । स्थानीय स्तरका योजनाहरु भने स्थानीय तहले सम्बोधन गरीरहेका छन् ।
मुख्य सडक कालोपत्रे
पर्वत जिल्लामा झण्डै सवै वस्तीहरुमा सडक पुगेको छ । सदरमुकाम देखि उत्तर र दक्षिणी क्षेत्रका सवै वडाहरुमा मुख्य सडकले छोएको छ । कच्चि सडक खनिएको लामो समय भइसक्दा पनि सडकको अवस्थामा भने जिर्ण अवस्थामा छन । अधिकांश सडकहरुमा बर्षातको समय सवारी साधन चल्न नसक्ने अवस्था थियो । त्यहि कुरालाई मध्यनजर गर्दै निर्वाचनमा सवैले सडकलाई पहिलो प्राथमिकतामा राखेका थिए ।
यतिबेला पर्वत जिल्लाका १७ वटा सडक खण्डहरु कालोपत्रेको चरणमा छन । ति सडकहरुमा कालोपत्रेको काम शुरु भईसकेको छ । केहि सडकहरु बहुबर्षिय ठेक्का मार्फत कालोपत्रेको चरणमा छन भने केहि सडकहरु बार्षिक कार्यतालिकामा छन ।
जिल्लाको सवै भन्दा पुरानो सडक दोविल्ला देखि फलेवाससम्मको सडक यहि बर्ष नै पुरा हुँदैछ । यो सडकको केहि खण्ड यस अघि नै कालोपत्रे थियो । दोविल्ला देखि साइकलचोक हुँदै मल्याङदी खोलासम्म सडक कालोपत्रे भए पनि बाँकी खण्ड साइकलचोक देखि फलेवास ढिकसम्मको काम बाँकी थियो । त्यो खण्डमा अहिले प्रदेश सरकार मार्फत सडक कालोपत्रेको काम भईरहेको छ ।
उता, गण्डकी प्रदेश सरकार र संघ सरकारको समेत समपुरक अनुदानमा चिसापानी–हुवास–वहाकी सडक पनि कालोपत्रेको काम शुरु भएको छ । दक्षिणी क्षेत्रमा धेरै मानिस लाभान्वित हुने यो सडकले पर्वतलाई स्याङजाको वालिङसंग जोड्छ । स्याङजा खण्डको अधिकांश भाग कालोपत्रे भए पनि पर्वत खण्डमा भने यस अघि कालेपत्रेको काम शुरु हुन सकेको थिएन ।
यसैगरी आरसिआइपि कार्यक्रम अन्तर्गत कुश्मा देखि हुवास जोड्ने सडक पनि कालोपत्रे हुँदैछ । यो सडकमा खण्ड विभाजन गरी काम भएको छ । पहिलो खण्डमा मुडिकुवा देखि लमायखोलासम्म कालोपत्रेको काम सकिएको छ । दोस्रो खण्डमा लमायखोला देखि लुंखुसम्मको कालोपत्रेको काम भईरहेको छ । यसैगरी लुंखु देखि हुवाससम्मको सडक पनि कालोपत्रे गर्ने गरी काम शुरु भइसकेको छ । यो सडकले पैयू र महाशिलालाई गाउँपालिकालाई सदरमुकामसम्म प्रत्यक्ष रुपमा जोड्छ ।
फलेवास नगरपालिकाले समपुरक आयोजनामा समेत समावेश गरी प्रदेश र संघसंगको साझेदारीमा लमायखोला–लिमिठाना–ठानामौला–भंगरा–थापाठाना सडकमा पनि बार्षिक कार्यक्रम अनुसार कालोपत्रेको चरण अघि बढाएको छ । पहिलो चरणमा ट्रयाक्क खन्ने काम सकेको यो सडकको लमायखोलामा मोटरेवल पुल पनि बनिरहेको छ ।
दोविल्लाबाट पकुवाको सिल्मी ठुलिपोखरी खौला हुँदै कालोपत्रे सडकले कार्किनेटा बजार जोडिदैछ । कार्किनेटा बजारसम्म पोखराबाट आइपुग्नका लागि स्याङजा देखिको खण्ड हिलेखोला कार्किनेटा खल्डाडा शंकरपोखरी सडक सवै खण्ड कालोपत्रे हुँदैछ । सडक खण्डका काम भईरहेको छ ।
उता, कालीगण्डकी लोकमार्ग अन्तर्गतको शालीग्राम–रानीपानी सडक पनि कालोपत्रेको लागि अघि बढेको छ । यो सडक पनि बहुबर्षिय ठेक्का मार्फत कालोपत्रे हुँदैछ । उत्तर दक्षिणी जोड्ने राष्ट्रिय गौरबको लोकमार्गको पर्वत खण्डको सेतीवेणीको सेतीखोलामा मोटरेवल पुलको निर्माण कार्य भईरहेको छ भने सोहि सडकको सेतीवेणी देखि रानीपानीसम्म सडक कालोपत्रे गर्ने गरी काम शुरु भईसकेको छ । रानीपानी देखि बर्राचौर बाच्छा पाङराङ हुँदै फलेवास ढिकसम्मको खण्डलाई स्तरोउन्नती गरी कालोपत्रेको चरणमा लैजाने गरी काम भइरहेको छ । उक्त सडक खण्डको कुर्घा र देविस्थान जोडन्े मोटरेवल पुलको निर्माण कार्य पनि भइरहेको छ ।
प्रदेश सरकारसंग साझेदारी गर्ने गरी महाशिला गाउँपालिकाले पाखापानी मलकवाङ–जोरकाफल–लुंखु सडक पनि कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरीसकेको छ ।
बालाकोट देखि होश्राङदी हुदै भोक्सिङबाट बाच्छा जोड्ने सडकको ट्रयाक्क खन्ने कार्य यसै बर्ष सकिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको रकमले उक्त खण्डको ट्रयाक्क खन्ने काम यसै बर्ष पुरा हुँदैछ ।
सोहि सडक खण्ड मध्ये कार्किनेटा देखि लुंखु भोक्सिङ होश्राङदी उराम हुँदै सेतीवेणी पुग्ने मार्गमा संघ सरकारले रकम विनियोजन गर्न शुरु गरेको छ । यो सडकलाई दुई प्रदेश जोड्ने सडकको रुपमा संघ सरकारले विकास गर्न लागेको हो । यो सडकको अन्तिम गन्तब्य कार्किनेटाबाट आर्थर हुँदै पोखराको पामेसम्म पुग्छ ।
मोटरेवल पुल तर्फ
यसैगरी पर्वत जिल्लामा ७ वटा मोटरेवल पुलहरु निर्माण भईरहेका छन । ९ वटा मोटरेवल पुलहरु निर्माण हुने प्रक्रियामा रहेका छन । ति मध्ये दक्षिणी क्षेत्रको लमायखोलामा अचले भंगरा जोड्ने मोटरेवल पुलको निर्माण कार्य भइरहेको छ । यसै बर्ष उक्त पुल सकिने गरी काम भईरहेको छ । जैमिनीघाटमा पनि फलेवास नगरपालिकालाई बागलुङसंग जोड्ने गरी मोटरेवल पुलको निर्माण कार्य भईरहेको छ ।
यसैगरी दक्षिणी क्षेत्रमा सेतीखोला, सेराखोला, गेडीखोला, मेर्दिखोला र सिब्दीखोलामा पनि मोटरेवल पुल निर्माण कार्य शुरु भएको छ । । यी पुलहरु सडक सञ्जाल भित्र सडक कालोपत्रे हुँदा निर्माण हुने भएका हुन । यी पुलहरुको समेत ठेक्का आब्हान भईसकेको छ । साना खोलाहरुमा समेत मोरटेवल बन्द बनेपछि बर्षातको समयमा यात्रा सहज हुने देखिन्छ । यी पुलहरु लुंखु हुवास सडक र चिसापानी हुवास हुँदै वहाकी सडकमा पर्दछन् ।
अन्य पूर्वाधार
जिल्लाको विकास दुूत गतिमा भएको अर्को दृटान्त एक घर एक धारा अभियान पनि हो । जिल्लाका अधिकांश वडाहरुमा उक्त अभियान जारी छ । डाँडाहरुमा खानेपानी लिफ्ट गरी ब्यवस्थापन हुँदैछ भने, अन्य ठूला खानेपानीका आयोजनाहरु पनि सञ्चालनमा छन । संघ र प्रदेश सरकारले एक घर एक धारा अभियानमा सहयोग पुराउनो दक्षिणी क्षेत्रमा झण्डै २ दर्जन बढि खानेपानीका साना र ठुला आयोजनाहरु सञ्चालन गरीरहेको छ ।
अर्को तर्फ ठूला सिंचाईका आयोजनाहरु समेत पर्वत जिल्लामा सञ्चालन भईरहेका छन । गण्डकी प्रदेश सरकारले विहादी गाउँपालिकामा उद्योग ग्राम स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकामा उद्योग ग्रामको काम अघि बढिसकेको छ ।
संघिय सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट पैयू गाउँपालिकाको हुवास बजारमा सयौको संख्या अट्ने गरी सामुदायिक सभागृहको निर्माण कार्य शुरु भएको । त्यो कार्यक्रमका लागि साझेदारी कार्यक्रमसंगै संघबाट समेत बजेट विनियोजन गरिएको छ ।
यसैगरी, जिल्लामा ५० शैयाको सुविधासम्पन्न जिल्ला अस्पतालको भवन निर्माण भईरहेको छ भने दक्षिणी क्षेत्रमा रहेका महाशिला गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । लुंखुको प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधास सम्पन्न १५ शैयाको अस्पताल बनाउने गरी सरकारले निर्णय गरीसकेको छ ।
यसैगरी पैयू गाउँपालिकाको हुवास स्वास्थ्य चौकीलाई पनि १५ शैयाको अस्पताल बनाउने गरी संघीय सरकारले निर्णय गरीसकेको छ । १५ शैयाको अस्पताल हुँदा विशेषज्ञ सेवा सहित, ल्याव, एक्सरे, भिडियो एक्सरे र माइनर अप्रेसन सेवा समेतको शुरुवात हुनेछ ।
यी सवै खालका विकास निर्माणका कामहरुले गर्दा पर्वत जिल्ला केहि बर्षमा देशकै उत्कृष्ट विकास निर्माणका कामहरु भएको जिल्ला बन्ने कुरामा अव द्धिमत रहेन ।
महाशिलालाई दक्षिणी क्षेत्रको विराट पर्यटकीय र धार्मिक स्थल बनाउनका लागि रणनैतिक योजना अघि सारिएको छ । बजेट समेतको ब्यवस्था गरी ठूलो आकारको मुर्ति बनाउने, पार्क बनाउने र पर्यटकलाई लोभाउने गरी काम शुरु गरिएको छ । यो कार्यका लागि संघ सरकारले समेत सहयोग गरेको छ । सेतीवेणीलाई थप प्रचार प्रसार गरी पर्यटक भित्राउने कार्यमा संघ सरकार, प्रदेश सरकारले सहयोग रकम प्रदान गरेका छन् ।
जनप्रतिनिधिहरुको जोडबल
प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले पर्वत जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने अभियान भईरहेको बताउँदै आइरहेका छन । उनले निर्वाचन पूर्व देखि नै पर्वतको उत्तर देखि दक्षिणसम्म साइकलमा चढेर घुम्न मिल्ने सडकहरुको निर्माण गर्ने बताउँदै आएका छन । कालोपत्रे सडक हुँदा साइकलमा पनि यात्रा गर्ने उनको भनाई छ ।
तत्कालीन बाम गठबन्धनको तर्फबाट संघिय सांसदको पदमा उठेका गिरीले निरन्तर पर्वत जिल्लाको विकासका लागि प्रदेश सभाका सभामुख तथा मन्त्रीहरु र संघिय सभामा राष्ट्रिय सभाका अध्यक्ष लगाएतले जिल्लालाई विकासको गतिमा हिडाउन निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै आइरहेका छन । उनले सडक कालोपत्रे मात्र नभई जिल्लाका सवै घरधुरीमा एक घर एक धारा पुराउने, सिंचाई र कृषि क्षेत्रको विकास गर्ने कार्यमा वर्तमान सरकारले निकै दु्रत गतिमा काम गरीरहेको समेत बताउँदै आइरहेका छन । जिल्लाको भौतिक विकासको पहिलो आवश्यकता सडक पूर्वाधार रहेको भन्दै सडकको स्तरोउन्ती गरी कालोपत्रे गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखिएको गिरीको भनाई ।
पर्वत जिल्लामा स्थानीय तह, प्रदेश सभा र संघीय तहमा निर्वाचित सवै जनप्रतिनिधिहरुले जिल्लाको विकासका लागि प्रतिस्पर्धात्मक तरिकाले बजेट विनियोजन गर्ने, जनताका समस्याहरु समाधान गर्न अग्रसर हुने कार्य गरीरहेका छन् । प्रदेश सभा ख बाट निर्वाचित विकास लम्साल प्रदेश सरकारका पर्यटन, वन, वातावरण तथा उद्योग मन्त्री हुन् । पर्यटन र उद्योगको क्षेत्रमा पनि पर्वत जिल्लामा विकास निर्माणका कार्यहरु भित्राउन लम्साल समेत लागि परेका छन् । यस अघि संविधान सभामा समेत निर्वाचित लम्सालले समेत पूर्वाधार निर्माण, भौतिक संरचना निर्माणमा योगदान पुराउँदै आएका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीना पर्वतबासी भएकाले उनले पनि जिल्लाको भौतिक संचरनाहरुको विकास निर्माणका लागि सहयोग पुराउँदै आएका छन् । पूर्व जिल्ला विकास समितिको सभापति समेत भईसकेका कारण त्यस बेलामा शुरु गरेका विकास आयोजनाहरु अवको केहि बर्षमा नै पुरा हुने गरी काम गर्ने गरी विकास आयोजनाहरुमा निरन्तर तिमिल्सीनाका खबरदारी र सहयोग रहँदै आएको छ ।




