२० जेठ, पर्वत । लक डाउनको कारण देखाउँदै कतिपय सञ्चार माध्यमहरुले आफ्ना कर्मचारीलाई समयमा तलब भुक्तानी नगरेको भन्दै पत्रकार महासंघ पर्वत शाखाले समयमै तलब भुक्तानी गर्न सञ्चार माध्यमलाई आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै लक डाउनको समयमा पत्रकार तथा कर्मचारीको तलब नरोक्न आग्रह गरेको हो ।
पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी र सचिव गणेश गिरीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ–‘ पछिल्लो समयमा विशेषगरी पर्वतमा सञ्चालनमा केहि मिडियाहरुमा काम गर्ने सञ्चारकर्मीहरुले केही महिनायता तलबभत्तासमेत नपाएको मौखिक गुनासाहरु आइरहेको सन्दर्भमा सञ्चारकर्मीहरुले यो लकडाउन र महामारीको समयमा आफ्नो ज्यानको समेत प्रवाह नगरी काम गरिरहेको यथार्थतालाई स्मरण गरी बैकल्पिक ब्यवस्था गरेर भएपनि सञ्चारकर्मीले पाउनुपर्ने तलबभत्ता तत्काल उपलब्ध गराउन ती मिडिया सञ्चालकहरुमा हामी हार्दिक आग्रह गर्दछौ ।’
यसैगरी महासंघले स्थानीय तह प्रदेश सरकार र संघीय सरकारले पनि लक डाउनका कारण विज्ञापन गुमाएका मिडियाहरुलाई सहयोग गर्न अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ –‘आर्थिक अवस्थाकै कारण धरासायी बन्ने परिस्थितिको सामना गरिरहेका पर्वतका सञ्चारमाध्यमको समस्या सम्बोधन गर्न पर्वतका सात वटै पालिकालाई महासंघ हार्दिक आग्रह गर्दछ । साथै मिडिया क्षेत्रले अहिले भोगिरहेको समस्यालाई सम्बन्धित निकायहरुमा निचोड निष्कनेगरी राखेर पहल गर्न नेपाल पत्रकार महासंघ प्रदेश र के
न्द्रीय समितिसमक्ष अनुरोध गर्दछौ ।’




