Print

बजेट भाषण : पर्वतका ४ ठूला आयोजनामा बजेट

१६ जेठ, पर्वत । आगामी बर्षका लागि संघिय संसदमा अर्थ मन्त्री डा. युवराज खतिवडाद्धारा प्रस्तुत बजेटमा पर्वत जिल्लाका लागि ४ वटा ठूला आयोजनामा बजेटले सम्बोधन गरेको छ । विहिबार अर्थ मन्त्री खतिवडाद्धारा प्रस्तुत बजेटमा जिल्लाका ४ वटा सडक पूर्वाधारका लागि बजेट विनियोजन भएको हो ।

पर्वत जिल्लाका ४ वटा महत्वपूर्ण सडकमा सरकारले बजेटको ब्यवस्थापन गरेको छ । कुश्मा नगरपालिका वडा न १ मालढुंगा देखि म्याग्दी सदरमुकाम जोड्ने सडक मालुढुंगा वेनी सडकलाई टु लेनको बनाउने गरी स्तरोउन्नती गर्न बजेट विनियोजन गरिएको अर्थ मन्त्रीले जानकारी दिएका छन् । झण्डै १० किलोमिटर सडक खण्ड सानो र साँघुरो हुँदा यात्रा कष्टकर बनिरहेको छ । सडक खनिएको लामो समय भएपनि उक्त सडक खण्डको स्तरोउन्नती हुन सकिरहेको थिएन ।

पर्वत जिल्लामा निर्माणधिन कालीगण्डकी लोकमार्ग निर्माणका लागि समेत बजेट विनियोजन भएको छ । लोकमार्गको केहि खण्ड बागलुङ र गुल्मी क्षेत्रमा निर्माण भईरहे पनि कालीगण्डकी नदी वारी पर्वत जिल्लामा समेत निर्माण भइरहेको उक्त सडक निर्माणका लागि बजेट विजिनोजन भएको छ । लोकमार्गका अधिकांश भागमा ट्रयाक खन्ने काम भए पनि थोरै ठाउँमा भने ट्राक्क खन्न बाँकी रहेको छ । अहिले उक्त सडक खण्डको पर्वत खण्ड अन्तर्गत सेतीवेणी देखि रानीपानीसम्मको खडक कालोपत्रेको चरणमा छ ।

संघिय सांसद पदम गिरीका अनुसार सडकका बाँकी भाग पनि चालु आर्थिक बर्षमा कालोपत्रे गर्ने गरी मन्त्रालयमा बजेट माग भएको छ । रानीपानी देखि बर्राचौर हुँदा फलेवास ढिकसम्म सडक स्तरोउन्नतीमा बजेट भए पनि कालोपत्रेका लागि बजेट छैन । यसैगरी फलेवास ढिक देखि कुश्मा हुँदै छमर्के जोड्ने सडकमा पनि ट्रयाक्क खोल्ने काम मात्र भएको छ । कुश्माको मोदीवेणी घाटमा भने ट्रयाक्क खोल्न नै बाँकी छ । आगामी बर्ष त्यो सवै काम पुरा हुने गरी बजेटको ब्यवस्थापन गरिएको सांसद गिरीको भनाई छ ।

यसैगरी पर्यटकीय गन्तब्य रिडी सम्म पुग्ने पोखरा रिडी सडक लागि सरकारले बजेट बिनियोजन गरेको छ । आगामी बजेटमा पोखराबाट – पामे– भदौरे– राम्जा–आर्थर–कार्किनेटा–लुंखु–त्रिबेणी–सेतीबेणी– रिडी सडकका लागि बजेट बिनियोजन गरिएको छ । पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तब्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीबेणी हुँदै रिडी सम्मको सडक राष्ट्रिय राजमार्गमा परेपछि डाँडैडाडा सेतीबेणी देखि पोखरा सम्म पक्की सडकमा पुग्ने पर्वतबासीको चाहनाले मुर्तरुप लिने भएको छ ।
अर्थमन्त्रीले यो सडकका लागि बजेट बिनियोजन भएको बताएपछि बहुर्षिय ठेक्का मार्फत सडक निर्माण हुने छ । अहिले सम्म सडकको पर्वत र कास्की खण्डको सबैजसो भागमा ट्रयाक खोल्ने काम भैसकेको छ । अब सडक कालोपत्रे र बिस्तार हुने भएको छ ।

गुल्मीको रिडी देखि पर्वतको सेतीबेणी देखि पोखरा सम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा गत बर्ष पनि परेको थियो । सेतीबेणी देखि पोखरा सम्म डाँडैडाडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशिला, डहरे, पञ्चासे र पोखरा जस्ता धार्मिक र पर्यटकीय क्षेत्र समेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकको रुपमा समेत बिकास गर्न सकिने छ । पर्वतको सुदुर दक्षिणबाट मध्यभाग हुँदै उत्तरपुर्बी क्षेत्र जोडने सडक पर्वतको मेरुदण्ड समेत बन्ने छ । सडक निर्माणका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले पहल गर्दै आइरहेका थिए ।

यसैवीच पर्वत खण्ड हुँदै जाने मध्य पहाडी लोकमार्गको सडकका बाँकी काम पनि पुरा हुने बजेटमा उल्लेख गरिएको छ । चालु बर्षमा सम्पन्न हुने गरी काम शुरु भए पनि मध्य पहाडी लोकमार्गको पर्वत खण्डको काम चालु बर्षमा पुरा नहुने भएको छ । आगामी बर्षका लागि पनि रकम थप भएका कारण पर्वत खण्ड भने पुरा हुनेनै छ । मध्य पहाडी लोकमार्गका अन्य जिल्लाका बाँकी काम समेत आगामी बर्ष हुने भएका छन्

उता, बहुचर्चित कालीगण्डकी जलाशययुक्त परियोजनाको विषयमा भने बजेट मौन रहेको छ । सम्भाब्यता अध्ययनको शुरुवात गरिएको उक्त आयोजनाको प्रगतिको बारेमा भने बजेटमा उल्लेख गरिएको छैन् ।