१५ जेठ, पर्वत । प्रमुख जिल्ला अधिकारीको रुपमा पर्वतमा जिल्लामा १ बर्ष अघि कार्यभार सम्हालेकी कल्पना घिमिरे नेपालले प्रशासन सम्हाल्दा आफूले कुनै प्रलोभन र प्रभावमा नपरी निश्पक्ष कार्य सम्पादन गरेको बताएकी छिन् । पर्वत जिल्लाबाट चितवन जिल्ला प्रशासन कार्यालयमा सरुवा भएकी नेपालले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कानूनी रुपमा आफूले प्राप्त गरेका अधिकारहरु सम्पादन गर्दा कसैको प्रभाव र प्रलोभनमा नपरी आफूले कार्य सम्पादन गरेकी बताइएकी हुन् ।
पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आफूले १ बर्षको अवधिमा सम्पन्न गरेका कार्यहरुको ८७ बुँदाका उपलब्धिहरु सार्वजनिक गर्दै प्रजिअ नेपालले नेपाल सरकार र गृह मन्त्रालयका परिपत्रहरुलाई कानूनमा रुपमा मान्दै आफूले निश्पक्ष न्याय सम्पादन गरेको दावी गरिन् । कार्य सम्पादनमा विवदारहित देखिएकी नेपालले सरकारको नियमित सरुवामा आफू चितवनको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जान लागेको समेत जानकारी दिइन् ।
पर्वत बसाईमा मुख्य गरी प्रशासनीय र ब्यवस्थापकीय कार्यमा ३४ वटा उल्लेखनीय कार्यहरु गरेको नेपालको भनाई छ । उनले कार्यालय सञ्चालन पद्धतिमा सुधार, सेवाग्राहीहरुसंगको ब्यवहार र काम गर्ने प्रकृतिमा सुधार तथा प्रशासनीय रुपमा कागजातहरुका ब्यवस्थापनमा आफूले कार्यालयमा उदाहरणीय काम गरेको बताईन ।
गृह सचिवसंगको कार्य सम्झौतामा उल्लेख गरे बमोजीमका १४ वटा उल्लेखनीय कामहरु गरेको बताउँदै नेपालले विपद् तथा आपतकालिन कार्यमा गण्डकी प्रदेश भरीकै उत्कृष्ट काम पर्वत जिल्लामा भएको समेत जानकारी दिइन् । प्रजिअ नेपालले कोभिड १९ को महामारीमा जिल्ललाई सुरक्षित राख्न विशेष कार्य योजना निर्माण गरी समन्वयत्मक ढङगले काम भईरहेको समेत बताईन ।
उनले महामारीबाट पर्वतबासीलाई सुरक्षित राख्न हालसम्म अलबम्बन गरिएका प्रयासहरु सार्थक र सफल रहेको बताईन । विदेशबाट फर्केनहरुलाई पुलिङ विधि मार्फत क्वारेन्टाइनमा राख्ने र परिक्षण पश्चात उनीहरुको ब्यवस्थापन गर्ने कार्य निकै सफल र फलदायी हुने विश्वास ब्यक्त गरिन । प्रदेशका अन्य जिल्लाको तुलनामा पर्वतले कोभिड नियन्त्रण र रोकथाममा निकै प्रभावकारी र सफल काम गरेको भन्दै उनले चिकित्सक र जनप्रतिनिधिलाई धन्यवाद समेत दिइन् ।
जिल्लामा सञ्चालन भएका विकास आयोजनाहरुको प्रगति सुधार, विवाद समाधान कार्यमा समेत आफूले पहल गरेको उनको भनाई छ । राष्ट्रिय गौरबका आयोजनाहरुको सुरक्षा, समस्या समाधानका प्रयास र आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको उनले जानकारी दिईन ।
आफ्नो कार्यकालको अन्तिम पत्रकार भेटघाट कार्यक्रममा प्रजिअ नेपालले यो अवधिमा सवैभन्दा उल्लेखनीय काम कालीगण्डकी नदीको सिमाना छु्टाउने रहेको बताईन । उप समिति गठन गरी काली गण्डकी नदीको सिमाना छुटाउने काम सकिएको उनले बताईन । कोरोना प्रकोप शुरु भएका कारण नदीको सिमांकनका विषयमा प्राप्त प्रतिवदेन सार्वजनिक गर्न नपाएकोमा दुःख ब्यक्त गर्दै उनले प्रतिवदेनमा सिमांकनको विषयमा धेरै कुरा उल्लेख भएको जानकारी दिईन ।
यसैगरी गरी कुश्मा ८ चुवामा रहेको विष्णु बाटिकालाई अख्तियारले बृहत छानवीनको क्रममा राखेको बताउँदै आफूले शुसासन र भ्रष्ट्रचार निर्मुल पार्ने सक्दो प्रयास गरेको समेत दावी गरिन् ।
पत्रकार भेटघाटको क्रममा सञ्चारकर्मीहरुले पत्रकार महासंघको अस्थायी भवन उपलब्ध गराउन, पर्वतको प्रशासनीय क्षेत्रमा दवाव र प्रभाव रहित काम गर्न तथा कोभिड नियन्त्रणमा उल्लेखनीय काम गर्न प्रमुख जिल्ला अधिकारी नेपाल सफल रहेको बताएका थिए ।




