१२ जेठ, पर्वत । लक डाउनका कारण विगत २ महिना देखि जिल्लाका सवै होटलहरु पूर्ण रुपमा बन्द अवस्थामा छन् । लक डाउन शुरु भएपछि बन्द भएका होटलहरुलाई सरकारले भने विदेशबाट फर्कनेहरुका लागि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । सरकारको निर्णय बमोजीम पर्वत जिल्लाको कुश्मा बजारका होटलहरु पनि क्वारेन्टाइनको रुपमा प्रयोग हुन थालेका छन् ।
जिल्लाको सदरमुकाम कुश्मा बजारका होटल ब्यवसायीहरुसंगको सहमती बमोजीम जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वयमा होटलहरुमा विदेशबाट फर्केनेहरुलाई होटलमा राख्न शुरु गरिएको छ । लक डाउनका कारण करोडौ लगानीमा सञ्चालन गरीएका होटलहरु २ महिना देखि बन्द अवस्थामा छन् । होटल बन्द हुँदा करोडौको लगानी जोखिममा परेको छ ।
दैनिक खचाखच हुने सदरमुकाम कुश्मा बजारका होटलहरुले यति बेला चर्को आर्थिक मन्दी खेपीरहेका छन् । विशेषगरी फागुन देखि जेठसम्म मुस्ताङ घुम्ने पर्यटकहरु बढ्ने भएका कारण यो अवधिमा होटलहरुमा पाहुनाहरुको संख्या अधिक हुने गर्दथ्यो । बन्द भएका होटलहरुमा भने अहिले विदेशबाट फर्किएकाहरुलाई राख्न शुरु गरिएको छ । पर्वतमा पहिलो चरणमा राजमार्ग छेउछाउका होटलहरु प्रयोग गरिनेछ भने ति होटलहरु भरिएपछि बजार भित्रका होटलहरु पनि प्रयोग गरिनेछ ।
अहिले होटल ब्लु एन्जलमा २० जना भारतबाट फर्किएकाहरु छन् । होटल बन्दनामा ८ जना बसीरहेका छन् । उनीहरुलाई सुरक्षाका उपायहरु अपनाएर कोठामा राखिएको छ । होटल बन्दनाका सञ्चालक कृष्ण श्रेष्ठका अनुसार अरु वेलाका पाहुनालाई भन्दा बढि सुविधा दिएर विदेशबाट फर्किएकाहरुलाई राखिएको छ । उनीहरुलाई होटलका सवै सेवा सुविधा प्रयोग गर्ने गरी प्रत्येक एटेज कोठामा राखिएको छ । प्रति ब्यक्ति एउटा बेड गरी एउटा कोठामा वेडका आधारमा २ देखि ३ जना मात्र राखिएको छ ।
उनीहरुको कोरोना परिक्षण पछि रिर्पोटका आधारमा आइशोलेसन वा पालिकाका क्वारेन्टाइनमा पठाइनेछ । होटल सञ्चालक श्रेष्ठले अरु बेलामा नाफा कमाएर बस्ने ब्यापारीले यो बेला राज्यलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्नुपर्ने बताउँछन् । सहज परिस्थिीतमा नाफा कमाउने मात्र होइन, असहज अवस्थामा देश, जनताका लागि सेवा गर्नु पनि ब्यवसायीको कर्तब्य भएको श्रेष्ठको भनाई छ ।
जिल्लाका सवै होटलहरु आवश्यकताका आधारमा सरकारले प्रयोग गर्न पर्ने श्रेष्ठको भनाई छ । पर्वत सदरमुकाममा होटल बेञ्जु, होटल बन्दना, माउन्टेन भ्यू, व्रिज भ्यू, लगाएतका ठूलो लगानीमा सञ्चालन भएका होटलहरु छन् । दर्जन भन्दा बढि साना होटलहरु पनि सञ्चालनमा छन् । सवै होटलहरुको क्षमता जोड्दा बढिमा ५ सय क्षमताका होटलहरु कुश्मा बजारमा रहेका छन् । होटलमा बस्नेहरुको विल भुक्तानी भने सम्बन्धित स्थानीय तहले गर्नेछन् । प्रति ब्यक्ति प्रति दिन खाना, खाजा र बसाई वापतको अधिकत २ हजारसम्म ब्यवसायीले लिन मिल्ने गरी सरकारले निर्णय गरेको छ ।
अहिले होटल बन्दनामा ८ जना र ब्लु एन्जल होटलमा २० जना गरी कुल २८ जना होटलमा बसीरहेका छन् । बाँकी शिवालय माविको क्वारेन्टाइनमा छन् ।




