Print

अव कुश्माका होटलहरु पनि क्वारेन्टाइन

११ जेठ, पर्वत । जिल्लामा भित्रनेहरुको संख्या एकाएक बढ्न थालेपछि हाल निर्माण गरिएका सामुदायिक क्वारेन्टाइनहरुमा वेडको संख्या अपुग हुने भएको छ । जिल्ला भर कुल ३ सय ७५ वेड क्षमताका क्वारेन्टाइन भएको बताई पनि ति क्वारेन्टाइनहरु जिल्लाका विभिन्न वडाहरुमा छन् ।

सिधै सदरमुकाम आउनेहरुलाई विभिन्न वडामा सिधै पठाउँदा संक्रमणको जोखिम हुने भएका कारण जिल्ला कमाण्ड पोष्टको निर्णय अनुसार होटलहरुलाई पनि क्वारेन्टाइन बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको भनाई छ ।

लक डाउनका कारण सवै होटलहरु बन्द भएका छन् । ति होटलहरुमा सुरक्षणका सावधानी अपनाएर भारत र अन्य मुलुकबाट आउनेलाई राखिनेछ । पर्वत अस्पतालका डा. शिशिर देवकोटाका अनुसार होटल सञ्चालक र कर्मचारीलाई सुरक्षाका विषयमा अनुशिक्षण समेत दिईनेछ । होटलका क्वारेन्टाइनमा बसेकाहरुलाई परिक्षण पछि भने संक्रमण नभेटिएमा सम्बन्धित वडाको क्वोन्टाइनमा पठाइने डा. देवकोटाले जानकारी दिए ।

भारतबाट मात्रै अवका केहि सातामा झण्डै ७ सय देखि ८ सय को संख्यामा मानिसहरु पर्वत आउने अनुमान गरिएको डा. देवकोटा बताउँछन् । उनीहरुलाई राख्नका लागि सामुदायिक क्वारेन्टाइनमा पूर्वाधारको पनि अभाव छ भने वेड संख्याको पनि अभाव छ । धेरै मानिस एकै पटक आउँदा उनीहरुको ब्यवस्थापनमा चुनौति देखिनेछ । पहिलो चरणमा राजमार्गका होटलहरु प्रयोग गरिने र संख्या बढेमा बजार भित्रका होटलहरु पनि प्रयोग गर्ने गरी जिल्ला कमाण्ड पोष्टले तयारी गरीरहेको छ ।

पर्वतमा शनिवार मात्रै एकै पटक २४ जना मानिस पर्वत भित्रिएका छन् । उनीहरु सवैलाई शिवालय माविको क्वारेन्टाइनमा राखिएको प्रहरी कार्यालयले जनाएको छ ।