Print

पर्वतमा पूर्वाधार निर्माणका काम शुरु, ठूला आयोजनामा कामदारको अभाव

१२ वैशाख, पर्वत । लक डाउनका कारण विगत १ महिना देखि बन्द भएका विकास आयोजनाहरुको काम शुरु भएको छ । संघिय सरकारले ठूला आयोजना र पूर्वाधार निर्माणका कामहरु नरोक्न जिल्लाहरुको नाउँमा पत्राचार गरेपछि पर्वतमा पनि विकास निर्माणका कामहरु शुरु भएका हुन । पूर्वाधार निर्माणको उत्कर्ष चरणमा रहेको जिल्लामा १७ भन्दा बढि सडक कालोपत्रेको चरणमा छ । पर्वत जिल्लाका आधा दर्जन खोलाहरुमा मोटरेवल पुल निर्माणधिन छन् भने जिल्लामा राष्ट्रिय गौरबका आयोजनाहरु पनि निर्माणधिन अवस्थामा छन । सरकारले पर्वत जिल्लामा सञ्चालीत योजनाहरुको कामलाई निरन्तर सञ्चालन गर्न निर्देशन दिएसंगै विकास निर्माणका कामहरु शुरु हुने अवस्थामा पुगेका हुन ।

मध्यपहाडी लोकमार्ग (पर्वत खण्ड)

जिल्लामा निर्माणधिन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको काम शुरु हुने अवस्थामा छ । आयोजाका प्रमुख आशिष थापाका अनुसार हाल ७५ जना कामदार साइडमा रहेका छन । स्थानीय कामदारहरु मार्फत काम २ दिन भित्र शुरु गर्ने गरी निर्माण ब्यवसायीसंग समन्वय गरिएको जानकारी दिए । उनले स्टक्चरको काम धेरै प्रतिशत सकिएकाले अव मेसिनबाट गर्नुपर्ने काम बाँकी रहेको समेत बताए । आयोजनाको झण्डै ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुखको भनाई छ । लक डाउन कायम रहे आगामी असारसम्म कालोपत्रेको काम नसकिने तर लक डाउनले स्वरुप परिर्वतन गरे कालोपत्रेको काम शुरु गर्ने तयारी कार्यालयले गरेको मगरको भनाई छ । अवको अधिकांश काम कालोपत्रेको बाँकी रहेको हुँदा उक्त काम शुरु भएको बढिमा २ महिना भित्र सकिने थापाले जानकारी दिए । केहि कटिङ र नालीको काम मात्र पर्वत खण्डमा बाँकी रहेको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि)

जिल्लामा ३ वटा सडकको स्तरोउन्नती सहित कालोपत्रेको काम ग्रामीण सडक सञ्जाल सुधार आयोजना माार्फत भईरहेको छ । उक्त सडकले आगामी असार मसान्तसम्म केहि किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखे पनि आयोजनाको निर्माण कार्य लक डाउनका कारण अवरुद्ध बनेको छ । आयोजना अन्तर्गत अर्मादी देखि खुर्कोट, पाङ हुँदै बनौ जोडने सडक निर्माणधिन अवस्थामा छ । यसैगरी आयोनना अन्तर्गत नै लमायखोला देखि कुर्घा हुँदै लुंखु देउरालीको सडक पनि निर्माणधिन अवस्थामा रहेको छ । उता, लुुंखु देखि हुवाससम्मको सडक पनि निर्माणको चरणमा छ । अहिले ३ वटै सडकको निर्माण कार्य बन्द अवस्थामा रहेको आयोजनाका प्रमुख विजय राना मगरले जानकारी दिए । केहि दिनमा वनौ देखि अर्माद हुँदै बनौ सडकको निर्माण कार्य शुरु हुने आयोजनाका इन्जिनियर प्रेमहरी पराजुली बताउँछन । हाल उक्त खण्डमा ४८ जना कामदार रहेको निर्माण ब्यवसायीले बताएका छन । यसैगरी लुंखु देखि हुवास सडकमा भने २५ जना मात्रै कामदार रहेको इन्जिनियर पराजुलीको भनाई छ । उक्त आयोजनामा पनि काम शुरु गर्ने तयारी भएको छ । उता, लमाय देखि लुंखुसम्मको सडक कालोपत्रे चरणमा पुगेको हुँदा सडकमा अहिले कामदार छैनन । सडकमा ठूला मेसिनको काम रहेको कार्यालयको भनाई छ ।

पूर्वाधार विकास कार्यालय

जिल्लामा अधिकाश ग्रामीण सडक र मोटरेवल पुलको निर्माण कार्य गरीरहेको पूर्वाधार विकास कार्यालयले आयोजनाका कामहरु क्रमशः शुरु भईसकेको जनाएको छ । कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारीका अनुसार आयोजनाको कार्य क्षेत्रमै रहेका मजदुरहरु मार्फत निर्माण कार्यको शुरुवात गरिएको छ । आयोजनामा रहेका अधिकांश मजदुरहरु घरमा फर्काउन कार्यालयले नै सहजीकरण गरेका कारण कतिपय आयोजनामा भने कामदारको अभाव रहेको कार्यालयका लेखा प्रमुख गौरब बैरागी बताउँछन । सरकारले लक डाउनको घोषणा गरेपछि मजदुरलाई प्रशासन कार्यालयसंग समन्वय गरी घरमा फिर्ता पठाइएको बताउँदै लेखाप्रमुख वैरागीले अहिले भने आयोजनाहरुमा मजदुरको अभाव भएको बताए । कार्यालय मार्फत काम भईरहेका प्रदेश क वर्गका सडकहरुमा उपलब्ध जनशक्तिबाट काम शुरु भइसकेको उनको भनाई छ । कतिपय आयोजनाहरुको भुक्तानी कार्य पनि निरन्तर भईरहेको बताउदै ७० प्रतिशत भन्दा बढि उपलब्धि देखिने समयमा लक डाउन भएका कारण ६० प्रतिशत भन्दा कम प्रगतिमै कार्यालयको उपलब्धि रोकिएको लेखा प्रमुम बैरागीको भनाई छ । कार्यालय मार्फत जिल्लामा झण्डै एक दर्जन सडकमा कालोपत्रे र बाँकी दुइ दर्जन सडकहरुको स्तरोउन्नतीको काम भईरहेको छ ।