Print

बागलुङमा २ फिट बाक्लो असिना

 ८ बैशाख, बागलुङ । जिल्लाको काँठखोला गाउँपालिका २ र ३ वडामा सोमबार दिउँसो भीषण रुपमा परेको असिनापानीले स्थानीय उत्पादन नष्ट गरेको छ । दिउँसो २ बजेदेखि परेको असिनापानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्णरुपमा नष्ट बनाएको काठेखोला–२ भीमापोखराका शिक्षक विक्रम शर्माले बताए ।

भीमापोखराको सिम, डोहेरी र काठेखोला–३ धम्जाका माझकटेरा, हिलेगाउँ र दुवारा लगायतका स्थानमामा ठूलो असिना परेको हो । असिनाले कृषकको खेतबारीमा पाकेको अन्नबाली गहुँ, जौ, वा र तरकारी बाली पूर्णरुपमा नष्ट भएको छ ।

धम्जा सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख लोकवहादुर भण्डारीका अनुसार, असिनाले स्थानीय बाली पूर्णरुपमा नष्ट भएकाले लाखौको क्षति भएको छ । असिना २ फिटभन्दा बाक्लो परेको छ । जिल्लाका अन्य स्थानमा पनि अहिले असिनापानी परिरहेको छ । यसबाट ठूलो नोक्सान हुने स्थानीयले बताएका छन् ।