Print

बागलुङमा चट्याङबाट मृत्यु हुनेको संख्या २ पुग्यो, आज पनि गल्कोटमा एक महिलाको मृत्यु

९ बैशाख, बागलुङ । चट्याङबाट मृत्यु हुनेको संख्या बागलुङमा २ पुगेको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीकी अन्दाजी ६० बर्षिया बिजुली खत्रीलाई मंगलबार दिउँसो चट्याङले लागेर मृत्यु भएको हो । घरमा बसीरहेकी बिजुलीलाई चट्याङले लागेर बेहोस भएकी थिईन् । यो संगै चट्याङबाट मृत्यु हुनेको संख्या बागलुङमा दुई पुगेको छ ।

स्थानीयले उपचारका लागि गलकोटको हटियास्थित आरोग्य अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको वडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जानकारी दिए ।

उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । उनीसँगै रहेका अन्दाजी ६५ बर्षिया श्रीमान सोमबहादुर खत्री सामान्य घाईते भएका छन् । मृतक खत्रीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने तयारी भैरहेको बुढाथोकीले बताए । उनीहरु घरमा दुईजना श्रीमान श्रीमती मात्रै रहेको स्थानीयले बताएका छन्

यस अघि बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा गत शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको थियो । उक्त दिन चट्याङबाट ६ जना घाईते भएका थिए ।

घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान लागेर ज्यान गएको थियो।