गणेश गिरी/
विहान मौसम खुल्छ । दिनमा घाम लाग्छ । मौसम घमाइलो छ । बसन्त ऋतुको आगमन हुँदैछ । बोट विरुवा हरिया हुन लागेका छन् । खेतबारीहरुमा मुना पलाएका छन् । रुखहरुमा टुसा पलाएका छन् । कृषकको महिना शुरु भयो । वारीमा मकै छरिएको छ । तोरी फुलेर पाकेको छ । चैते धान रोप्न कृषकलाई हतारो छ । मेला पात, अर्मपर्म, कृषकको दैनिकी माटोमै छ । बजारमा लक डाउनले पसल बन्द छन । शहरमा गाडी चलेका छैनन् । मान्छेको आगमन शहर र बजारमा बन्द प्रायः छ ।
तर, गाउँको परिवेश बेग्लै छ । घरमा पालेका पशु चौपायलाई घाँस नकाटि हुँदैन् । बेसी र फाँटका गहहरुमा मकै छर्नै पर्छ । कोरोनाका कारण बजार गएका युवाहरु पनि अहिले गाउँमा छन् । कोरोनाको कहर थाहा नपाउनेलाई गाउँको रौनक अनौठो पनि लागेको छ । मान्छेको भिड देखिन्छ । धेरै घरमा परिवार थपिएका छन् । चौपारी र चौवाटोमा जम्मा हुनेको संख्या पहिलेको भन्दा धेरै छ । उसो त, मौरीपालक कृषक अझै खुशी छन । सुन्तलाका वगानहरुमा फुलेका फुलमा मौरी घुमेका छन् । सुन्तलाका कृषकहरु पनि यो बेलामा खुशी हुनुपर्नेछ । उनीहरुका सुन्तला बगानमा ढपक्क सुन्तलाका फुल फुलेका छन् । कोरोना र लक डाउनले गाउँले जीवनमा खासै फरक पारेको छैन् । प्राथमिक उपचारका लागि गाउँमै स्वास्थ्य चौकी छन् । परिक्षा सकिएर बन्द भएका विद्यालयहरुका कारण विद्यार्थीहरु घरमै छन् । धेरैले आफ्ना आमा वुवालाई काममा सहयोग गरेका छन् ।
यी र यस्ता कुरा लक डाउनका रमाइला विषय हुन् । विषय यत्तिमा मात्र सिमित छैन् । रमाईलासँगै गाउँमा प्राकृतिक विपद् पनि थपिएको छ । बाह् महिनामा खाने अन्न माथि प्रकृतिले धावा बोलेको छ । दैनिक जसो दिउँसो ३ बजे पछि प्रकृति रिसाउँछ । मनमा कालो बाँदल छाउँछ । प्रकृर्ति रिसाउँदा त्यसको असर पृथ्वीमा देखिएको छ । वितेको एक महिनामा पर्वत र बागलुङ जिल्लामा दर्जन भन्दा बढि पटक असिना परे । असिनाले माथि उल्लेख गरेक कलिला मुनाहरु झार्यो ।
पलाउँदै गरेका टुसाहरु भाँचिदियो । असिनाले, पसिना बगाएर लगाएका बाली नाली ध्वस्त बनाएको छ । हेर्दा हेर्दै आँखाकै अगाडि खानका लागि ठिक्क बनाएका तरकारीहरु माटोमा बिलाएका छन । बिहानको छाक ट्रयो । बेलुका टिपौला भनेर राखेका फलहरु झारिदिएको छ । कृषकले गह भरी आँशु पारेर असिनाका सेता दानासँग रिसाउनु बाहेक विकल्प छैन् । सरकार कृषकको आहतमा राहत दिन सक्दैन् । तथ्यांक लिइन्छ, केहि पेज समाचार बन्छन् । तर असिनाबाट पिडित बनेका कृषकको आशा कहिल्यै पुरा हुँदैन् । यो अवधिमा कृषकको करोडौ मूल्यका बाली नाली नष्ट भएका छन् ।
प्रकृतिको ज्याजति यतिमा मात्र सिमित छैन । असिना पर्नु पहिले हावा हुरी लाग्छ, कृषकका टनेल उडाउँछ । सुकाएका फसल उडाउँछ । आकाशमा झिल्का छुट्छ । त्यो झिल्कामा विद्युत प्रवाह हुन्छ । त्यसले फेरी केहि मानिसलाई घाइते बनाउँछ । कसैको ज्यान नै लिन्छ । भगवान, प्रभु वा अल्लाह सम्झेर आकाश हे¥यो । आकाशबाट करेण्ट छुट्छ । करेण्टले पशु चौपाय पनि मार्छ ।
चट्याङ बनेर धर्ति बर्जिएको त्यो करेण्टले पर्वत र बागलुङ जिल्लामा मात्रै एक हप्ताको वीचमा दुई जनाको ज्यान लियो । झण्डै आधा दर्जनको संख्यालाई घाइते बनायो । भौतिक र मानवीय क्षति बनायो । कोरोनाले बरु तत्काल मार्दैन् । चट्याङले आफन्त भेट्न पनि दिदैन् । उपचार गरेर बचाउन पनि सकिदैन् । चैत २९ गते बागलुङमा चट्याङ परयो । २६ बर्षका युवाको प्राण गयो । ६ जना घाइते भए । ७ वैशाखमा पर्वतको शंकरपोखरीमा चट्याङ रुपी दैव लाग्यो । २८ बर्षिया युवतीको ज्यान लियो । चट्याङ आतंक बर्षेनी हुने गर्छ । मानिसको ज्यान लिन बर्षेनी सम्झी–सम्झी आउँछ । लुकेर बस्ने मात्र बाँच्छन । धेरै इलोक्ट्रोनिक सामानमा क्षति पुग्छ । यो त्रासले यति बेला कोरोना त्रास पनि ओझेलमा परेको छ ।
पर्वत र बागलुङमा मात्र होइन । यो बेला देश भरका कृषक समस्यामा छन् । चट्याङका कारण सवै नेपाली जोखिममा छन् । एउटा रोगबाट बच्यो अर्को रोग लाग्छ । रोग बाट बच्यो प्रकृर्ति लाग्छ । प्रकृर्तिबाट बच्यो कहिलेकाँही शत्रु लाग्छ । आखिर सन्तोष केहि गरे पनि छैन् । (८ वैशाख, २०७७ मा प्रकाशित)
लेखक गिरी जि एण्ड जि मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक हुन ।




