९ चैत, पर्वत । चिसो घटेको छ । गर्मि बढेको छैन । मौसम मध्यम छ । घुम्नेका लागि यो मौसम उत्तम हो ।बर्षेनी पर्यटकहरुले यो सिजनमा घुमफिरमा बिताउँछन । कठ्याङग्रदो चिसो मौसम हटेको छ । आकाश खुल्ला छ । वातावरणमा मधुमास छाएको छ । पवन शितल शितल भएर बगिरहेको छ । निलो आकाश हेर्दे टहकिनेको संख्या विदेशीको मात्र होइन्, नेपालीको पनि बढि नै छ । पछिल्लो समय आन्तरीक पर्यटकको संख्या ह्वातै बढेको छ । देश भित्र घुमफिर गर्नेको जमात बढि देखिन्छ ।
फुर्सदमा समय विताउन र पारिवारिक भ्रमण गर्न मानिसहरु गृह जिल्ला छाड्ने गर्छन । पछिल्ला बर्षहरुमा पर्वत पनि आन्तरीक भ्रमणका लागि गनिने जिल्लामा पर्ने गरेको छ । अझै, मध्य पहाडी लोकमार्ग भएका कारण यो जिल्ला सडक किनारमा पर्दछ ।
देशकै धेरै पर्यटक आउने घोडेपानी र मुस्ताङको काखमा छ पर्वत । त्यहि भएर, पछिल्लो ५ बर्षमा पर्वतको होटल ब्यवसायले पनि राम्रो फड्को मारेको छ । केहि बर्षसम्म स्तरीय होटल खोज्न पोखरा जानुपर्ने बाध्यता अहिले हटेको छ ।
बसाईको लागि उच्चस्तरीय सेवाका होटलहरु खुलेका छन । ति होटलहरु सिजनमा खचाखच हुने गरेका छन । सिजनको फल खाने बेलामा भने यो बर्ष होटल ब्यवसाय निकै ठूलो मारमा परेका छन । होटलहरुमा सुनसान छाएको छ । ग्राहकको प्रतिक्षा होटल सञ्चालकहरुले गर्न छाडेका छन । कोभिड–१९ नामक भाइरसका कारण विश्व अर्थतन्त्र धरापमा परेको बेला पर्वतमा पनि त्यसको असर देखिएको छ । घुम्न आउने पर्यटकको संख्या शुन्य प्रायः बनेको छ । गाउँ घरबाट शहर पसेकाहरु गाउँ फर्किएका छन । विरलै मानिस बजारमा भेटिन्छन । ठूला शहरबाट गाउँ फर्कनेले बाटोहरु ब्यस्त बनाएका छन ।
‘दैनिक ३ देखि ४ सय ग्राहकले खाना खान्थे’ कुश्माको पुरानो होटल बन्दना होटलका सञ्चालक कृष्णप्रसाद श्रेष्ठ भन्ँछन–‘होटलको भान्सा घर अहिले सुनसान छ ।’ उनले भने–‘कोठाहरु खाली छन ।’ विश्वलाई त्रसित बनाएको कोराना भाईरसको प्रभावका कारण ब्यवसाय अस्तब्यस्त बनेको उनको भनाई छ ।
‘बैंकको ब्याज तिर्नुपर्छ’ उनले भने–‘किस्ता तिर्न ऋण खोज्नुपर्ने भयो ।’ पर्यटकहरुका कारण खचाखच हुने होटलहरुमा सन्नाट जस्तै छाएको छ । श्रेष्ठले भने–‘कोठा प्याक हुँदा सिजनमा कतिपयलाई बागलुङ बस्नका लागि पठाइयो ।’ पर्यटक आउने सिजनमा कुश्माका सवै होटलहरु खचाखच हुने गरेको कथा सुनाउँदै उनले भन्छन–‘सरकारले ब्यवसायीलाई सहुलियत दिनुपर्छ ।’
होटलका कारण तरकारी पसल, किराना पसल, फलफुल पसल, डेरी पसलको ब्यवसाय पनि बढ्थ्यो पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी भन्छन–‘आर्थिक संकटको अवस्था आउने भयो ।’
झण्डै ५ सय जनालाई सहज रुपमा आरामदायी बसोबासको ब्यवस्था मिलाउन सकिने गरी कुश्मामा होटलहरु सञ्चालनमा छन । पछिल्लो समय लिप्ट सहित आधुनिक उच्च सुविधाको होटल माउन्टेन भ्यू सञ्चालनमा छ । करोडौ रकम लगानी गरेर स्थानीय ओम श्रेष्ठले सञ्चालनमा ल्याएको होटल पनि सुनसान बनेको छ । कुश्माबजार, कालीगण्डकी नदी, अग्ला पुल र बञ्जि जम्पको अवलोकन गर्न मिल्ने गरी सञ्चालकले होटल निर्माण गरेका छन । माउन्टेन भ्यूमा मिनि बार र रेष्टुरेष्ट पनि सञ्चालनमा छ ।
सिजनमा होटल खाली हुँदा सञ्चालक चिन्तित छन । होटलमा भिआइपि स्विट रुम सहितका कोठाहरु छन ।
उता, होटल बेञ्जु पनि सुनसान छ । दैनिक सयौको संख्यामा आउने पर्यटकहरुका कारण भरिभराउ हुने उक्त होटलमा पनि अहिले ग्राहक छैनन । बढिजसो मुस्ताङ जाने र कुश्मा घुम्न आउने पर्यटकका कारण होटल बेञ्जु सधै भरिभराउ हुन्थ्यो ।
यस बाहेक कुश्माका उच्च स्तरीय र सामान्य सवै होटलहरुमा ग्राहकको खडेरी लागेको छ । होटल ब्यवसायलाई विस्तार गर्दै पार्टी प्यालेस सहितको सुविधा दिने गरी काम शुरु गरे पनि सिजनमै ग्राहकको खडेरी लाग्दा होटल बन्दना पनि समस्यामा परेको छ ।
झोलुंगे पुलहरु हेर्न आउनेहरुका कारण भरिभराउ हुने झोलुंग पुल नजिकका रेष्टुरेष्टहरु समेत समस्या परेका छन । विश्व भर कोराना भाइरसको सन्त्रास बढिरहेको छ । त्रासकै कारण नेपाल सरकारले पनि नेपाल भर सोमबार देखि लागू हुने गरी लकडाउन गरेको छ । यसको असर सवै क्षेत्रमा देखिएको हो ।
आजको अर्थ वीट साप्ताहिकमा प्रकाशित
पर्वतमा आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा




