Print

कोरोना भाइरस : पर्वत भित्रने नाकामा चेकजाँच गरौ

पर्वत । कोरोनाको भय यतिबेला सवै ठाउँमा छाएको छ । विश्व समुदायलाई नै आतंकीत पारीरहेको कोरोना भाइरस हालसम्म नेपालमा नदेखिए पनि भाइरसले जुनसुकै बेला पनि भयावहको स्थिती ल्याउनसक्छ ।

ठूला र विकसित राष्ट्रहरुले समेत नियन्त्रण गर्न नसकेको कोरोना कोभिड १९ नामक भाइरसको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारको कदम भने लाचारीयुक्त नै देखिएको छ । केहि समय अघि स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विवादस्पद अभिब्यक्ती दिए । उनले विदेशबाट आउने सवैलाई क्वारेन्टाइनमा राख्न नसकिने अभिब्यक्ति दिए । उनले सवै नेपालीले घरलाई ने पहिलो क्वारेन्टाइन बनाउन अनुरोध पनि गरेका थिए । एता, देशभरको अवस्था जस्तै पर्वतमा पनि भाइरसको जुनसुकै पनि बेला पनि भित्रनसक्ने देखिन्छ ।

पर्वत जिल्ला साविक धौलागिरी अञ्चलका ४ जिल्लाको प्रमुख नाका पनि हो । बढिजसो मुस्ताङ र म्याग्दी जिल्लामा भित्रने पर्यटकहरु यति जिल्लाको सडकमार्ग हुँदै भित्रने गर्दछन । ति पर्यटकहरु देश र विदेशबाट आउने गर्दछन । तिनीहरु कोरोना भाइरसको उच्च जोखिम स्थलबाट आएका हुन्छन । उनीहरु मार्फत पनि भाइरस जिल्लामा भित्रन सक्दछ ।

अर्को तर्फ विदेशबाट पर्वत जिल्लामा आउनेहरु र देशका अन्य जिल्लाहरुबाट जिल्ला भित्र आउनेहरुले पनि कोरोना भाइरस भित्राउने सम्भावना बढि हुन्छ । यस्तो अवस्थामा जिल्लालाई कोरोनामुक्त बनाउनका लागि पर्वत जिल्ला भित्रने प्रमुख नाकाहरुमा स्वास्थ्य चेकजाँचलाई कडाई गर्दा पनि त्यो जोखिम कम हुन सक्दछ । मुख्य गरी पर्वत र धौलागिरी क्षेत्रमा भित्रनेहरु पोखरा बागलुङ सडक हुँदै आउँछन । उनीहरुलाई कास्कीको नयाँपुल र पर्वतको डिमुवामा स्वास्थ्य परिक्षण गर्न सके जोखिम कम हुने देखिन्छ । यसैगरी पर्वतमा मानिस भित्रने अर्को प्रमुख नाका जिल्लाको दक्षिणी क्षेत्र हो ।

दक्षिणी क्षेत्र अन्तर्गत स्याङजाको वालिङ देखि हुवास हुँदै मानिसहरु जिल्लामा भित्रने गर्दछन । ति क्षेत्रहरुमा समेत कडाईका साथ भित्रने मानिसहरुको स्वास्थ्य परिक्षण गर्न सकेको खण्डमा पनि भाइरस भित्रने सम्भावना कम हुने आकलन गर्न सकिन्छ । यसैगरी जिल्लामा सवारी साधन मार्फत कार्किनेटा, आर्थर लगाएतका क्षेत्रहरुबाट पनि सामान्य रुपमा मानिसहरु यातायात मार्फत आउने गर्दछन । ति नाकाहरुमा निगरानी बढाउन सकिएमा पनि कोरोना नियन्त्रण प्रभावकारी रुपमा अघि बढ्न सक्ने देखिन्छ । अर्थ वीट साप्ताहिकको सम्पादकीय स्तम्भबाट