Print

गुप्तेश्वर बहुमुखी क्याम्पसमा चरम आर्थिक संकट, प्राध्यापकहरुले ९ महिना देखि तलब पाएनन्

४ चैत, पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा सञ्चालित गुप्तेश्वर बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् । ९ महिनादेखि तलब नपाएको र क्याम्पस प्रशासनले विनियम अनुसार सञ्चालन नभई प्राध्यापकहरुको सेवा सुविधामा विभेद गरेको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् ।

क्याम्पसमा अध्यापनरत २२ जना प्राध्यापक र ५ कर्मचारीहरु आन्दोलित बनेका हुन् । ९ महिना सम्म तलब नपाउँदा पनि क्याम्पस प्रशासन र सञ्चालक समिति गैह्र जिम्मेवार बन्दै गएको उनीहरुको आरोप छ । सो सँगै क्याम्पसमा छोटो अवधि सम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधा र २० बर्ष सम्म अध्यापनरत प्राध्यापकलाई दिने सुविधामा समेत विभेद भएको आन्दोलित प्राध्यापक तथा कर्मचारीहरुले आरोप लगाएका छन् ।

तालबन्दी पछि सोमबारदेखि क्याम्पसका सम्पूर्ण प्रशासनिक कार्य प्रभावित बनेका छन् । तालाबन्दी गरेपनि प्राध्यापकहरुले अध्यापन कार्य भने रोकेका छैनन् । ‘हाम्रा समस्याका कारण विद्यार्थीहरुको भविष्य विगार्ने काम गर्दैनौँ’ एक प्राध्यापकले भन्छन ‘क्याम्पस प्रशासन र सञ्चालक समितिले माग सुनुवाई नगरेसम्म हामी क्याम्पस प्रशासनलाई सञ्चालन गर्न दिदैनौ’ उनले लामो समय सम्म समस्या दर्शाउँदा पनि सम्बन्धित निकायबाट सुनुवाई नभएको गुनासो गरे ।

यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीले भने क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुको समस्या समाधानका लागि प्रयास भइरहेको बताए । ‘विद्यार्थीको संख्या घटेसँगै क्याम्पस सञ्चालनमा कठिनाई भइरहेको छ’ उनले भने ‘अन्य सहयोगी निकायहरुबाट समेत क्याम्पसलाई सहयोग आउन नसक्दा प्राध्यापक कर्मचारीहरुको तलब दिन सकेका छैनौँ’ उनले नगरपालिका लगायतका सहयोगी निकायबाट वेवास्ता भएकोले समस्या उत्पन्न भएको बताए।

स्नातक तह सम्म अध्ययन हुने क्याम्पसमा अहिले २ सय ४० विद्यार्थी अध्ययनरत छन् ।

वकालत डटकमबाट