Print

यी हुन् पर्वतमा अलपत्र परेका योजनाहरु, के गर्दैछन जननिर्वाचित सांसद ?

१८ फागुन, पर्वत । देशमा स्थिर सरकार आएसंगै विकास निर्माणले गति लिएको छ । देश भर यतिबेला भौतिक पूर्वाधारको विकासको गति उच्च विन्दुमा छ । वर्तमान सरकारले सडक सञ्जाललाई पहिलो प्राथमिकतामा राखेर विकास योजनाको काम अघि बढाएको छ ।

पर्वत जिल्लामा पनि संघ र प्रदेश सरकारले सडक सञ्जाललाई विकासको पहिलो शर्त मानेर त्यसमा ठूलो बजेट विनियोजन गरेको छ । धेरै नयाँ योजनाहरुको शुरुवात भए पनि पर्वतमा केहि यस्ता योजनाहरु छन् जो विगत लामो समय देखि अलपत्र अवस्थामा छन । कतिपय योजनाहरुका बजेटको अभाव देखिन्छ भने कतिपय योजनाहरुमा निर्माण ब्यवसायीले हेलच्यक्राई गर्दा आयोजनाहरु अलपत्र परेका हुन । निर्माण हुने र त्यसबाट स्थानीयबासी लाभान्वित हुने समय सिमा नाग्दा पनि ति आयोजनाहरु अझै पनि सम्पन्न हुन सकिरहेका छैनन ।

भुरुङदीखोला मोटरेवल पुल

झण्डै ४ बर्ष देखि निर्माणको चरणमा रहेको मोदी गाउँपालिकाको भुरुङदीखोला मोटरेवल पुल अहिले पनि अलपत्र अवस्थामा छ । निर्माण ब्यवसायीको लापरबाहीका कारण पुल अपलत्र परेको हो । निर्माणको समय सिमा नाधेर पटक पटक समय थप्दा पनि हालसम्म उक्त पुलको निर्माण कार्य सम्पन्न भएको छैन ।

एक बर्ष अघि पुललाई छिटो निर्माण सम्पन्न गराउनका लागि सांसद पदम गिरीले ब्यवसायी, स्थानीयबासी र गाउँपालिकाको रोहवरमा लिखित सम्झौता नै गराए पनि त्यो सिमा पनि नाँघि सकेको छ । सिमा अवधि सकिदा पनि पुल निर्माण कार्य नहुँदा बर्षातको समयमा मोदी १ भुकदेउरालीका बासिन्दा बर्षेनी सास्ती बेहोर्नु परेको छ । पुल निर्माण कम्पनीले काम नगरेको हुँदा नयाँ ठेक्का प्रक्रियामा गएर भएपनि पुल निर्माण गर्न स्थानीयबासीले भने पटक पटक दबाव दिदै आइरहेका छन ।

झाप्रे बगर मोटरेवल पुल

कुश्मा बजार देखि ज्ञादीलाई जोड्ने झोप्रे बगर मोटरेवल पुलले पनि गति लिन सकेको छैन । यस अघि संघिय सरकारले बजेटमा उक्त पुल निर्माण गर्ने घोषणा गरेपनि बजेटको सुनिश्चितता नहुँदा पुल निर्माण प्रक्रिया अघि नबढेको हो । कुश्मा नगरपालिका वडा न ६ देखि कुश्मा नगरपालिका वडा न ९ जोड्ने उक्त पुल मोदी खोलामा निर्माण हुनेछ ।

मोदीखोलामा पुल निर्माण हुँदा ज्ञादी देखि कुश्मा बजारको सडक यात्रा छोटिनेछ । दोविल्ला फलेवास सडकको दुरी पार गरेर यात्रा गर्नुपर्ने बाध्यता उक्त मोटरेवल पुल निर्माण भएपछि सहज हुनेछ । संघिय सरकारबाट डिपिआरको काम भए पनि बजेटको सुनिश्चितता नहुँदा पुलको टेण्डर आब्हान हुन सकेको छैन । संघिय सांसद पदम गिरीले उक्त पुललाई छिटो भन्दा छिटो टेण्डर प्रक्रियामा लैजान मन्त्रालयलाई पटक पटक अनुरोध गरिएको बताएका छन । उनले केहि समयमै पुलको टेण्डर आब्हान गरी निर्माणको थप प्रक्रिया अघि बढ्ने बताए ।

उनले बजार क्षेत्रको महत्वपूर्ण सडक खण्डमा पर्ने झाप्रेबगर मोटरेवल पुल जसरी पनि निर्माण हुने प्रतिबद्धता ब्यक्त गर्दै पुलको बाँकी प्रक्रिया पुरा गरी निर्माण सम्पन्न हुने जानकारी दिए ।

कल्लेरीघाट मोटरेवल पुल

पर्वत र बागलुङ जोड्ने कल्लेरीघाट मोटरेवल पुल पनि निर्माण हुने हल्लाका वीच अझै निर्माण कार्य शुरुवात भएको छैन । संघिय सरकारबाट निर्माण कार्य अघि बढाउने गरी यस अघि नै रातो किताबमा योजना परे पछि योजनाको निर्माणको प्रक्रिया नै शुरु हुन नसकेको हो ।

संघिय सरकार तर्फ डोलिडार मार्फत निर्माण हुने भनिएको उक्त मोटरेवल पुलको दाँया तर्फ कालीगण्डकीको किनार(बागलुङ) सम्म पुग्ने ‘एक्सेस रोड’को अभाव हुँदा माटोको सर्भे कार्यमा समस्या परेको संघिय सांसद गिरीले जानकारी दिए ।

उनले बागलुङ नगरपालिका मार्फत सडक निर्माण अगाडि बढाउन अनुरोध गरिएको समेत बताए । नदीको वारी तर्फ (पर्वत) सडक पुगे पछि वारी (वागलुङ) तर्फ सडक नहुँदा माटोको परिक्षण र सर्भे कार्य रोकिएको गिरीको भनाई छ । नेकपा बागलुङका नेता कृष्ण पाठकले सडक निर्माण गर्न ठूलो बजेट लाग्ने भएकाले त्यो रकम संघिय सरकारसंग माग गरेर सडकको ट्रयाक्क जसरी पनि खोलीने जानकारी दिए ।

बागलुङको दक्षिणी क्षेत्रका बासिन्दालाई मोटरेवल पुल बन्दा पूर्वी क्षेत्रको यात्रा सहज हुने भन्दै पुल जसरी पनि निर्माण हुने विश्वास समेत दिलाए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुल निर्माण प्रक्रियाका लागि सडक खन्ने कार्यमा नगरपालिकाले विनियोजन गरेको बजेट थोरै भएकाले सडकको सवै खण्ड पुरा गर्न नसकिएको बताए । बागलुङ तर्फको सडक पुरा हुँदा मोटरेवल पुलको बाँकी कार्य पनि अघि बढ्ने सांसद गिरी बताउँछन ।

वारीवेनी बगरफाँट बासखर्क सडक

भुकम्प पुर्ननिर्माण प्राधिकरणले निर्माण गर्ने सडकहरुको लिष्टमा रहेको वारीवेनी बगरफाँट बासखर्क सडकको निर्माण कार्य अनिश्चित बनेको छ । यस अघि प्राधिकरणमा अलपत्र परेको फाइललाई जनप्रतिनिधिहरुको पहलमा वोलपत्र आब्हानसम्मको प्रक्रिया भएको थियो । बोलपत्र आब्हान भएपनि बजेटको सुनिश्चितता नभएका कारण सडक अलपत्र परेको जलजला १ बासखर्कका वडाअध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।

भुकम्पका कारण क्षति भएका सडकहरुको लिष्टमा यस अघि तत्कालीन जिल्ला विकास समितिले उक्त सडकलाई निर्णय गरेको थियो । भुकम्पको प्राधिकरण गठन भएसंगै कार्यालय मार्फत सडक निर्माण हुने आशामा बसेका बासखर्कबासी यतिबेला भने निराश भएका छन । बजेटको अभावका कारण सडकले गति लिन नसके पनि अरु श्रोतबाट भएपनि सडकको स्तरोउन्नती गरी कालोपत्रे गरिने संघिय सांसद गिरी बताउँछन ।

सडकमा पछिल्लो पल्ट सांसदको सिफारिसमा भौतिक पूर्वाधार मन्त्रालय मार्फत ५० लाख बराबरको टेण्डर आब्हान भएको छ । उक्त रकम निकै थोरै भएका कारण थप रकम समेत सडक निर्माणमा आश्यकता पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल बताउँछन ।

घुम्ति लाम्पाटा सडक र डिमुवा राम्जा सडक

सडक सञ्जालमा फड्को मारेको पर्वतमा यस अघि निर्माण कार्य अघि बढेका दुई सडक केहि समय अलपत्र अवस्थामा परेका थिए । कुश्मा नगरपालिकाको घुम्ति लाम्पाटा देखि पाङ जोड्ने सडक र मोदी गाउँपालिकाको डिमुवा तिलाहार राम्जा जोड्ने सडक । यी दुवै सडक संघिय सरकारले निर्माण गर्न लागेको थियो । संघिय सरकारले बजेटको उपलब्धता नगराउँदा अलपत्र यी योजनाको काम अहिले पनि अघि बढेको छ ।
प्रदेश सरकारमा सडक हस्तान्तरण भएपछि दुवै सडकले गति लिएको पूर्वाधार कार्यालय पर्वतका प्रमुख दायाराम अधिकारीले जानकारी दिए । दुवै सडक चालु बर्षमा कालोपत्रेको काम पुरा हुने अधिकारीको भनाई छ ।

कालीगण्डकी लोकमार्ग

पर्वत खण्ड अन्तर्गत निर्माण भईरहेको कालीगण्डकी लोकमार्गको केहि भागको काम सन्तोषजनक देखिएपनि केतिपय भागमा निर्माण कार्य भएको छैन । मुख्य गरी फलेवास नगरपालिकाको मुडिकुवा देखि मोदीवेणीसम्मको भागमा अझै पनि ट्रयाक्क खन्ने काम सकिएको छैन । गत बर्ष देखि नै उक्त खण्डमा निर्माण ब्यवसायीले ट्रयाक्क खन्ने काम शुरु गरे पनि विद्युत पोलको कारण देखाउँदै निर्माण कार्य बन्द गरेको उक्त आयोजनाको काम अझै पनि सकिएको छैन ।

त्यसैगरी मोदीवेणी देखि अर्मादीसम्मको ट्रयाक्क खोल्ने कार्य पनि सकिएको छैन । बाँकी खण्डहरुमा भने काम भईरहेको छ । टेण्डर आब्हान भएर निर्माण ब्यवसायीले सडक खन्ने जिम्मा लिइसके पछि सडकको बाँकी खण्ड भने पुरा हुन नसकेको हो । अर्थ वीट साप्ताहिकबाट